शिक्षण सिकाइमा एआई प्रयोगबारे राष्ट्रिय सम्मेलन सम्पन्न

भिजन समाचार
0
Shares

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिकामा पहिलो पटक आयोजित कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका–३ सिस्नेरी स्थित सुनकोशी कालिका बहुमुखी क्याम्पसको आयोजनामा “शिक्षण सिकाइमा एआईको प्रयोग” विषयक सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनमा एआईले शिक्षण सिकाइ क्षेत्रमा ल्याएको अवसर, चुनौती तथा ग्रामीण क्षेत्रमा यसको सम्भावनाबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न विज्ञ, प्राध्यापक तथा विद्यार्थीहरूले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सरोजकुमार गिरीले टिप्पणी तथा पृष्ठपोषण दिएका थिए ।

क्याम्पस प्रमुख जितेन्द्रबहादुर शाहीका अनुसार ग्रामीण क्षेत्रका विद्यालयमा एआईसम्बन्धी तालिम मार्फत शिक्षकलाई प्रविधिमैत्री बनाउँदै शिक्षणलाई अझ प्रभावकारी र सिर्जनशील बनाउन सकिने निष्कर्ष सम्मेलनले निकालेको छ ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. खिलानाथ सापकोटाले ग्रामीण क्षेत्रमै राष्ट्रियस्तरको एआई सम्मेलन आयोजना हुनु जिल्लाकै लागि ऐतिहासिक उपलब्धि भएको बताए । “कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो,” उनले भने, “कार्यक्रम उत्साहपूर्ण र उपलब्धिमूलक ढंगले सम्पन्न भयो ।”

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित सम्मेलनको उद्घाटन त्रिभुवन विश्व विद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले गरेका थिए ।

कार्यक्रममा इन्जिनियर निकेश कोइरालाले विभिन्न एआई टुलहरूको व्यवहारिक प्रयोग तथा प्रशिक्षण दिएका थिए । सम्मेलनमा क्याम्पसका विद्यार्थी, प्राध्यापक, विभिन्न विद्यालयका शिक्षक तथा माध्यमिक र आधारभूत तहका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको संस्थापक क्याम्पस प्रमुख मिनकुमार घिमिरेले जानकारी दिए ।

२०७८ सालमा स्थापना भएको सुनकोशी कालिका बहुमुखी क्याम्पसमा हाल शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर तथा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको अध्यापन भइरहेको छ ।