रास्वपा ओखलढुंगाको सभापतिमा कृष्णबहादुर थापा चयन

भिजन समाचार
0
Shares

ओखलढुंगा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ओखलढुंगाको प्रथम जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । रोचक रूपमा ताली, मतदान र अन्ततः गोलाप्रथासम्मको प्रक्रिया अपनाइएपछि जिल्ला सभापतिमा कृष्णबहादुर थापा चयन भएका छन् ।


शनिबार सम्पन्न अधिवेशनमा जिल्ला सभापति पदका लागि कृष्णबहादुर थापा र रोशन तामाङले उम्मेदवारी दर्ता गराएका थिए । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले तालीमार्फत समर्थन जनाएपछि थापा सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन भएका हुन् ।
उपसभापति पदमा पनि प्रतिस्पर्धा देखिएको थियो । लिलारमण दाहाल र पृथ्वीनारायण अधिकारीबीच भएको प्रतिस्पर्धामा प्रतिनिधिहरूको समर्थन दाहालको पक्षमा गएपछि उनी सर्वसम्मत रूपमा उपसभापतिमा चयन भए ।


सचिव पदमा भने कुमार चौलागाईँ दुर्गा निर्विरोध निर्वाचित भए । तर उपसचिव पदको चयन प्रक्रिया सबैभन्दा रोचक बन्यो । उक्त पदका लागि बिष्णु पोखरेल, कैलाशपति धमला, डुलहरी पाण्डे र प्रकाशचन्द्र श्रेष्ठले उम्मेदवारी दिएका थिए ।


मतदान हुँदा चारै जनाले समान दुई–दुई मत प्राप्त गरेपछि परिणाम अनिर्णीत बनेको थियो । त्यसपछि गरिएको गोलाप्रथामा कैलाशपति धमलाको नाम परेपछि उनी उपसचिवमा चयन भएका हुन् ।
नयाँ कार्यसमितिका सदस्यहरूमा डबलकाजी बस्नेत, नविन कुमार कटवाल, रमेश श्रेष्ठ, इन्दिरा कुमारी अधिकारी (दाहाल), ओम खड्का र ईश्वरा खत्री चयन भएका छन् ।


संघीय सांसद विश्वराज पोखरेल को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा ओखलढुंगाले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा जनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने योजना बनाएको नवनिर्वाचित सचिव कुमार चौलागाईँ दुर्गाले जानकारी दिएका छन् ।


तालीबाट सभापति र उपसभापति, निर्विरोधबाट सचिव तथा बराबरी मतपछि गोलाप्रथाबाट उपसचिव चयन भएको यो अधिवेशन रास्वपा ओखलढुंगाको नेतृत्व छनोट प्रक्रियालाई थप रोचक बनाएको सहभागीहरूले बताएका छन् ।