ओखलढुंगामा पहिलो एआई राष्ट्रिय सम्मेलन सुनकोशीमा

भिजन समाचार
26
Shares

ओखलढुंगा । जिल्लामै पहिलो पटक कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी राष्ट्रिय सम्मेलन सुनकोशी गाउँपालिकामा सुरु भएको छ । सुनकोशी गाउँपालिका–३ सिस्नेरीस्थित सुनकाेशी कालिका बहुमुखी क्याम्पसको आयोजनामा सुरु भएको सम्मेलनमा शिक्षण सिकाइमा एआईको प्रयोग, अवसर, चुनौती तथा ग्रामीण क्षेत्रमा यसको सम्भावनाबारे व्यापक छलफल हुनेछ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्कीले गरेका छन् । कार्यक्रममा उनले शिक्षक तथा विद्यार्थीले एआईलाई प्रतिस्पर्धी नभई सहयोगी प्रविधिका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् । “सही ढंगले प्रयोग गर्न सके एआईले शिक्षण सिकाइलाई अझ प्रभावकारी, सिर्जनात्मक र अनुसन्धानमुखी बनाउन सक्छ,” उनले भने ।

सम्मेलनमा सामुदायिक क्याम्पस संघका अध्यक्ष सत्रुघ्न प्रसाद गुप्ताले सामुदायिक क्याम्पसहरू दीर्घकालीन रूपमा टिकाइराख्न प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले डिजिटल प्रविधि र एआई प्रयोगमार्फत ग्रामीण क्षेत्रका क्याम्पसलाई समेत समयसापेक्ष प्रतिस्पर्धी बनाउन सकिने धारणा राखे ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. खिलानाथ सापकोटाले ग्रामीण क्षेत्रमै राष्ट्रियस्तरको एआई सम्मेलन आयोजना हुनु जिल्लाकै लागि ऐतिहासिक उपलब्धि भएको बताए । “कृतिम बुद्धिमत्ताको प्रयोगबाट शिक्षण सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो,” उनले भने, “ओखलढुंगामा यो प्रकृतिको राष्ट्रिय सम्मेलन पहिलो हो ।”

सम्मेलनमा प्राध्यापकहरु गोविन्द आचार्य, रविन्द्र न्यौपाने, गुरुप्रसाद पौडेल, सरोज गिरी तथा आईटी विज्ञ निकेश कोइराला ले ग्रामीण विद्यालयमा एआईको प्रयोग, डिजिटल शिक्षाको आवश्यकता तथा प्रविधिको सुरक्षित प्रयोगबारे प्रस्तुति दिएका थिए ।

विशेषगरी एआई टुलहरूको प्रयोग, पाठ तयारी, अनुसन्धान, सामग्री निर्माण, अनलाइन सिकाइ तथा विद्यार्थी मूल्यांकन प्रणालीमा एआईको उपयोगबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । गुरुप्रसाद पौडेल र निकेश कोइरालाले विभिन्न एआई टुलहरूको व्यवहारिक प्रयोगसमेत प्रदर्शन गरेका थिए ।

कार्यक्रममा क्याम्पसका विद्यार्थी, प्राध्यापक, विभिन्न विद्यालयका शिक्षक तथा माध्यमिक र आधारभूत तहका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ ।

२०७८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल शिक्षा शास्त्र संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर तथा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको अध्यापन भइरहेको संस्थापक क्याम्पस प्रमुख मिनकुमार घिमिरेले जानकारी दिए ।