एउटै विद्यालयमा तीन ‘हेडसर’


ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–८ बिल्दुस्थित विन्दवासिनी आधारभूत विद्यालय अहिले एउटा अनौठो दृश्यका कारण चर्चामा छ । सामान्यतया एक विद्यालयमा एक जना मात्रै प्रधानाध्यापक रहने व्यवस्था भए पनि यहाँ भने तीन विद्यालयका प्रधानाध्यापक एउटै विद्यालयमा पढाइ गराइरहेका छन् ।

विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय समायोजनको दबाब बढेको ग्रामीण शिक्षाको यथार्थ अहिले विन्दवासिनी विद्यालयले झल्काएको छ ।

हाल ३३ जना विद्यार्थी अध्ययनरत रहेको विन्दवासिनी आधारभूत विद्यालयमा प्रधानाध्यापक मेनुका अधिकारी दाहालसँगै भानु आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दाहाल र झर्ना आधारभूत विद्यालयकी प्रधानाध्यापक मनकुमारी राई पनि शिक्षकका रूपमा कार्यरत छन् ।

भानु आधारभूत विद्यालयमा विद्यार्थी संख्या शून्यमा पुगेपछि त्यहाँका प्रधानाध्यापक दाहाललाई विन्दवासिनीमा खटाइएको हो । त्यस्तै झर्ना आधारभूत विद्यालयमा अहिले जम्मा तीन जना विद्यार्थी मात्रै अध्ययनरत छन् । सो विद्यालयकी प्रधानाध्यापक राई काज सरुवामार्फत विन्दवासिनीमा अध्यापन गराइरहेकी छन् । उनी झर्ना विद्यालयकै तलब सुविधा बुझ्ने भए पनि अधिकांश समय विन्दवासिनीमै शिक्षणमा सक्रिय छिन् ।

प्रधानाध्यापक अधिकारी दाहालका अनुसार केही वर्षअघिसम्म पनि ५० जनाभन्दा बढी विद्यार्थी थिए । तर पछिल्ला वर्षमा संख्या तीव्र रूपमा घटेको उनले बताइन् । “अभिभावक शिक्षाका लागि सहरतिर बसाइँ सर्ने क्रम बढेको छ,” उनले भनिन्, “शेर्पा समुदायका कतिपय बालबालिका गुम्बा तथा धार्मिक शिक्षातर्फ पनि आकर्षित भइरहेका छन् ।”

गाउँपालिका शिक्षा शाखा प्रमुख सरस्वती पौडेलका अनुसार विद्यार्थी संख्या, शिक्षक दरबन्दी र विद्यालयको आवश्यकता हेरेर शिक्षक व्यवस्थापन गरिएको हो । उनका अनुसार विद्यार्थी न्यून भएका विद्यालय समायोजनको तयारी पनि भइरहेको छ ।

मोलुङ गाउँपालिकामै सिंहादेवी आधारभूत विद्यालय थापाचौर र झर्ना आधारभूत विद्यालयमा पाँचभन्दा कम विद्यार्थी छन् भने भानु आधारभूत विद्यालय विद्यार्थीविहीन बनेको छ ।

यस्तै जिल्लाका अन्य पालिकामा पनि अवस्था उस्तै छ । मानेभञ्ज्याङ गाउँपालिकाको महाकाली प्रावि र कालिका आवि, खिजीदेम्बा गाउँपालिकाको आदर्श आवि र कुन्तादेवी आवि तथा चिशंखुगढी गाउँपालिकाको भूमेस्थान आधारभूत विद्यालयमा विद्यार्थी संख्या पाँचभन्दा कम रहेको जनाइएको छ ।