लिखुमा पूर्वशिक्षक खत्री मृत फेला

भिजन समाचार
2.4k
Shares

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका–६ माम्नाङटारका एक पूर्वशिक्षक मृत अवस्थामा फेला परेका छन् । ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयका पूर्वशिक्षक करिब ६२ वर्षीय चेतबहादुर खत्री बुधबार बिहान घरनजिकै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

आफन्तले बिहान खत्रीलाई घरनजिकै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । लिखु गाउँपालिका–६ का वडा सदस्य जागेश्वर भट्टराईका अनुसार खत्री बुधबार बिहान करिब ८ बजेतिर मृत अवस्थामा फेला परेका थिए । उनी करिब दुई वर्षअघि विद्यालय सेवाबाट अवकाश प्राप्त गरेका थिए ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि प्रहरी चौकी गाम्नाङटार र इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

खत्रीको परिवारमा श्रीमती र दुई छोरा रहेका छन् । लामो समय शिक्षण पेशामा सक्रिय रहेका खत्री स्थानीय शिक्षा क्षेत्रमा योगदान पु¥याएका शिक्षकका रूपमा परिचित थिए ।

त्यस्तै, केही दिनअघि मात्रै लिखु गाउँपालिका–९ मल्खु कोथालाका नेपाली सेनामा कार्यरत करिब २८ वर्षीय भुवन लामिछाने पनि काठमाडौंको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।