कोरियामा सवारी दुर्घटनामा ओखलढुंगाका गणेश थापाको निधन

भिजन समाचार
742
Shares

ओखलढुंगा । रोजगारीका लागि दक्षिण कोरिया पुगेका ओखलढुंगाका गणेश थापाको ज्यान गएको छ । २९ वर्षिय थापा जिल्लाको मोलुङ गाउँपालिका–७ का हुन् । थापाको गत शुक्रबार ट्र्याक्टर दुर्घटनामा परी कोरियामै मृत्यु भएको हो ।

थापा करिब तीन वर्षअघि रोजगारीका लागि दक्षिण कोरिया पुगेका थिए । उनी त्यहाँ कृषि क्षेत्रमा कार्यरत रहेको बताइएको छ । कोरियामा भएको सवारी दुर्घटनामा परेर थापाको ज्यान गएको मोलुङ गाउँपालिका–७ का वडा अध्यक्ष हेमबहादुर सुनुवारले पुष्टि गरेका छन् ।

थापा परिवारका जेठा सन्तान हुन् । उनका परिवारमा बुबाआमा, दुई भाइ र एक बहिनी रहेका छन् । उनको निधनको खबरपछि परिवार तथा गाउँ शोकमा डुबेको छ ।

मृतक थापाको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको वडा अध्यक्ष सुनुवारले जानकारी दिएका छन् । यसका लागि सम्बन्धित निकाय, दक्षिण कोरियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवाला पक्षसँग आवश्यक समन्वय भइरहेको उनले बताएका छन् ।