ओखलढुंगा । प्रतिमा शेर्पालाई खिजिदेम्बा गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । गाउँपालिकाले विश्वको तेस्रो उच्च स्थानमा रहेको देम्बा गल्फ कोर्सको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि उनलाई सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ साेलुखुम्बु निवासी युवा गल्फ खेलाडी शेर्पालाई शुक्रबार बसेको गाउँ कार्यपालिकाको ४६औँ बैठकले औपचारिक रूपमा सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष गम्बु शेर्पाका अनुसार नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा गल्फ खेलमार्फत देशलाई चिनाउन प्रतिमा शेर्पाले खेलेको भूमिकाको सम्मानस्वरूप उनलाई जिम्मेवारी प्रदान गरिएको हो ।
कठिन मेहनत, दृढ संकल्प र संघर्षबाट सफलता हासिल गरेकी प्रतिमाको यात्राले दुर्गम क्षेत्रका प्रतिभावान महिला खेलाडीहरूलाई प्रेरणा र हौसला मिल्ने अध्यक्ष शेर्पाले विश्वास व्यक्त गरे ।
गाउँपालिकाले विश्वप्रसिद्ध खेलाडीसँगको सहकार्यले खिजिदेम्बा रहेको देम्बा गल्फ कोर्सको विश्वस्तरमा प्रचार, प्रवर्द्धन तथा पर्यटन विकासमा थप टेवा पुग्ने अपेक्षा गरेको छ । साथै प्रतिमा शेर्पाको अन्तर्राष्ट्रिय अनुभव र खेल यात्राले नेपालको खेल क्षेत्रलाई विश्वमाझ थप चिनाउन योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया