ओखलढुंगा । कुनै राष्ट्रिय दिवस, विशेष अवसर वा औपचारिक कार्यक्रम आउनासाथ सदरमुकाम आसपास सरसफाई अभियान सञ्चालन हुनु जिल्लाको पुरानै अभ्यास बनेको छ । याे चलन वर्षाैं देखि चलिआएकाे छ । सरकारी कार्यालय, राजनीतिक दल, सुरक्षा निकाय, संघ–संस्था र अभियन्ताहरू सडकमा उत्रिन्छन्, झाडु लगाइन्छ, फोहोर उठाइन्छ र केही समयका लागि बजार तथा पर्यटकीय क्षेत्र चिटिक्क देखिन्छन् । तर केही दिन नबित्दै उही स्थान फेरि फोहोरले भरिन थाल्छ ।
यसले एउटा गम्भीर प्रश्न उठाएको छ, सरसफाई अभियानको नाममा कहिलेसम्म फोहोर टिप्ने ?
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार सदरमुकामस्थित पर्यटकीय क्षेत्र सिद्धिचरण पार्कदेखि बौद्ध स्तुपासम्म सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला समारोह समिति संयोजक टेकराज भट्टराईले गणतन्त्र दिवसलाई हर्षोल्लासका साथ मनाउन हरेक वर्षझैँ यस वर्ष पनि सरसफाई कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अरुण सापकोटाले गणतन्त्रको महत्व स्मरण गराउँदै दिवसलाई सभ्य र व्यवस्थित रूपमा मनाउन आग्रह गरे । सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीयवासी तथा विभिन्न संघ–संस्थाको सहभागिता थियो । अभियानका क्रममा सडक, पार्क तथा सार्वजनिक स्थलबाट फोहोर संकलन गरिएको थियो ।
तर, विडम्बना के छ भने, अहिले सफा देखिएका ती क्षेत्र केही समयपछि फेरि उस्तै फोहोरले ढाकिने सम्भावना बलियो छ । किनकि जिल्लामा सरसफाईको अभ्यास अझै पनि “कार्यक्रममुखी” छ, “व्यवस्थापनमुखी” बन्न सकेको छैन ।
जथाभावी प्लास्टिकजन्य फोहोर फाल्ने बानी, पर्याप्त सार्वजनिक डस्टबिनको अभाव, नियमित फोहोर संकलन प्रणाली कमजोर हुनु, स्थानीय तहको प्रभावकारी निगरानी नहुनु र सार्वजनिक चेतनाको कमी अहिलेका मुख्य समस्या बनेका छन् । भएका डस्टबिन पनि समयमै खाली नगरिँदा फोहोर पाखाभरि छरिने गरेको स्थानीयको गुनासो छ ।
स्थानीयवासीहरूका अनुसार एक दिन झाडु लगाएर फोटो खिच्ने अभियानभन्दा दिगो व्यवस्थापन आवश्यक छ । फोहोर वर्गीकरण, नियमित संकलन, पुनःप्रयोगको व्यवस्था, जथाभावी फोहोर फाल्नेलाई जरिवाना र समुदायस्तरमै जनचेतना अभियान सञ्चालन नगरेसम्म समस्या समाधान नहुने उनीहरूको भनाइ छ ।

विशेषगरी पर्यटकीय क्षेत्रहरूमा स्थायी सरसफाई योजना नहुँदा जिल्लाको सौन्दर्यमा प्रत्यक्ष असर परेको देखिन्छ । सफा र आकर्षक बनाइनुपर्ने सार्वजनिक स्थलहरू नै फोहोर व्यवस्थापनको अभावमा अस्तव्यस्त बन्न थालेका छन् ।
स्थानीय तह, सम्बन्धित निकाय र सरोकारवालाहरूले अब “एकदिने सरसफाई अभियान” भन्दा “दैनिक सरसफाई संस्कार” विकास गर्ने दिशामा काम गर्नुपर्ने आवश्यकता देखिएको छ । विद्यालय तहदेखि नै फोहोर व्यवस्थापन सम्बन्धी व्यवहारिक शिक्षा, घरघरमा फोहोर वर्गीकरण, नियमित अनुगमन तथा दण्ड–जरिवाना प्रणाली प्रभावकारी बनाउन सके मात्रै सरसफाई अभियानले वास्तविक परिणाम दिन सक्छ ।
सरसफाई केवल दिवसको कार्यक्रम नभई नागरिक संस्कार र व्यवस्थापन प्रणालीसँग जोडिएको विषय भएकाले अब नारामुखी अभियानभन्दा दीर्घकालीन योजनामा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवाज उठ्न थालेको छ । गणतन्त्र दिवसजस्ता अवसरमा सरसफाईसँगै गणतन्त्रको महत्व, नागरिक दायित्व र सार्वजनिक सम्पत्तिको संरक्षणबारे विद्यालय तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

प्रतिक्रिया