ढेबुवाको पीडा देखेपछि डा. उद्धव राईको प्रतिबद्धता : पुल र बिजुलीका लागि पहल गर्ने

भिजन समाचार
98
Shares
स्थलगत अनुगमन।

ओखलढुंगा । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेका उद्धव राई पुनः सुनकोशी गाउँपालिका–१ ढेबुवा पुगेका छन् । निर्वाचनपछि पहिलो पटक ढेबुवागाउँ पुगेका राईले स्थानीय समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ढेबुवा माझी गाउँमा अहिलेसम्म विद्युत् सुविधा पुगेको छैन । स्थानीयहरू टुकी बालेर बस्न बाध्य रहेको भन्दै राईले राज्यको ध्यानाकर्षण गराएका छन् । केही वर्षअघि गाउँमा विद्युत् पुर्‍याउन स्थानीयबाट रकम उठाइएको भए पनि हालसम्म सेवा विस्तार हुन नसकेको स्थानीयको गुनासो छ ।

करिब दुई वर्षअघि आएको बाढीले सुनकोशी नदीमाथिको झोलुङ्गे पुल बगाएपछि स्थानीयको जनजीवन थप कष्टकर बनेको छ । पुल नहुँदा ढेबुवा र वडा नं. ४ जेरोङघाटका स्थानीयलाई आवतजावतमा सास्ती भएको छ ।

पुल अभावकै कारण विद्यार्थीहरू फिक्कल गाउँपालिका स्थित तिनखण्डे विद्यालय जानबाट प्रभावित भएका छन् । वर्षायाममा नदी तर्न नसक्दा बालबालिका घरमै बस्नुपर्ने अवस्था रहेको छ । अहिले अस्थायी रूपमा डुंगा सञ्चालन भए पनि त्यो दीर्घकालीन समाधान नभएको राईको भनाइ छ ।

समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता स्थानीयसँग राईले व्यक्त गरेका छन् । उनले ढेबुवालाई बीपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल निर्माण अत्यावश्यक रहेको बताए । “यो पुल निर्माण भए स्थानीयलाई राजधानी पुग्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुन्थ्यो,” उनले भने ।

राईले करिब ३०० मिटर लामो पुल निर्माणका लागि डिपिआर तथा लागत अनुमान तयार गरी सम्बन्धित निकाय र सदनमा आफ्नो दलका सांसद मार्फत पेस गर्ने प्रतिबद्धता जनाए । साथै विद्युत् विस्तारका लागि ट्रान्सफर्मर जडान र आवश्यक पूर्वाधार निर्माणमा पनि पहल गर्ने उनले बताए ।

निर्वाचन जितेका विश्वराज पोखरेल र सोही पालिकाका उम्मेदवार, पराजित भएका कुमार लुईटेल समेत यहाँका जनताको समस्या बुझ्न नपुगेको अवस्थामा राई गाउँमै पुगेर स्थानीयका गुनासा सुनेपछि स्थानीय हर्षित बनेका छन् ।