काठमाडाैं । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । उच्च अदालतको आदेशपछि मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बतासेकै २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र बतासेकै दीपक राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाको आदेशका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
रेश्मिका गाउँ नजिकै गत भदौ ३० गते राति मृत अवस्थामा फेला परेकी थिइन् । घटनापछि सामूहिक बलात्कारपछि हत्या भएको भन्ने चर्चा चले पनि प्रहरीले तत्काल त्यसलाई पुष्टि नभएको जनाएको थियो ।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशपछि ती किशोर पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मृतकका परिवारले थप तीन जनाको नाम उल्लेख गर्दै गत चैत २१ गते उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीमाथि सुनुवाइ गर्दै अदालतले चैत २८ गते घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको थियो ।
मृतकका पतिले पनि भदौ ३१ गते पत्नीमाथि छिमेकी दीपक सार्कीले बलात्कार गरेको हुन सक्ने आशंकासहित प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले सोही आधारमा घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया