जोर्तिघाटमा गणतन्त्र दिवसको मुख्य समारोह हुने

भिजन समाचार
154
Shares

ओखलढुंगा । गणतन्त्र दिवस २०८३ को मुख्य औपचारिक कार्यक्रम मानेभञ्ज्याङ गाउँपालिकास्थित जोर्तिघाटमा गरिने भएको छ । आगामी जेठ १५ गते सुनकोशी र दुधकोशी नदीको संगमस्थलमा प्रभातफेरीसहित विविध कार्यक्रम आयोजना गरिने जिल्ला स्तरीय समारोह समितिले जनाएको छ ।

ओखलढुंगा, खोटाङ र उदयपुर जोड्ने झोलुंगे पुल रहेको जोर्तिघाट ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र मानिन्छ । कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालय, सुरक्षा निकाय, राजनीतिक दल, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहने बताइएको छ ।

गणतन्त्र दिवसलाई जनसहभागितामूलक र अर्थपूर्ण रूपमा मनाउन जिल्लास्तरीय तयारी अघि बढाइएको छ । दिवसको अवसरमा प्रभातफेरी, सरसफाइ, सहयोग वितरण, दीप प्रज्वलन तथा औपचारिक समारोह आयोजना गरिने जनाइएको छ ।

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराईको संयोजकत्वमा जिल्ला स्तरीय समारोह समिति गठन गरिएको छ । समितिमा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा गैरसरकारी संस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।

समितिको सोमबार बसेको बैठकले जेठ १४ गते बिहान साढे ७ बजे सिद्धिचरण पार्कमा भेला भई पार्कदेखि बौद्ध स्तूपसम्म सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सोही दिन बिहान ९ बजे लालीगुराँस इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने कार्यक्रम तय गरिएको छ ।

त्यस्तै जेठ १४ र १५ गते जिल्लाका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराई सजावट गर्ने तथा साँझ दीप प्रज्वलन गर्न जिल्लावासीलाई आग्रह गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख भट्टराईले गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नगरी लोकतान्त्रिक उपलब्धिको संरक्षण, नागरिक अधिकार र जनआन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा मनाउन खोजिएको बताए । उनले नागरिक एकता र लोकतान्त्रिक मूल्यको सन्देश फैलाउन सबैलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।