विषादीरहित भान्साबारे आमालाई सचेतना

भिजन समाचार
40
Shares

ओखलढुंगा । ग्रामीण भान्सामा बढ्दो रासायनिक विषादीको प्रयोगप्रति सचेत बनाउने उद्देश्यले आमाहरूलाई विषादीरहित तथा स्वस्थकर खानाबारे अभिमुखीकरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाको आयोजनामा सुनकोशी गाउँपालिका–८ च्यानाममा सञ्चालन गरिएको एकदिवसीय सचेतना कार्यक्रममा स्थानीय दुई वटा आमा समूहका करिब ६० जना महिलाको सहभागिता रहेको थियो ।

कार्यक्रममा रासायनिक विषादीको जथाभावी प्रयोगले मानव स्वास्थ्य, माटोको उर्वराशक्ति र वातावरणमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको थियो । साथै सुरक्षित खाद्य उत्पादनलाई प्रवद्र्धन गर्न विषादीको प्रयोग न्यूनीकरण गर्दै जैविक खेती प्रणाली अपनाउनुपर्ने विषयमा समेत सहभागीलाई सचेत बनाइएको आयोजकले जनाएको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख पेशल खतिवडाका अनुसार कार्यक्रममा रासायनिक विषादीको विकल्पका रूपमा प्रयोग गर्न सकिने जैविक तथा वनस्पतिजन्य विषादी तयार गर्ने व्यावहारिक विधिबारे समेत प्रशिक्षण दिइएको थियो ।

“घरमै उपलब्ध हुने वनस्पति तथा स्थानीय सामग्री प्रयोग गरेर सुरक्षित विषादी बनाउन सकिने भएकाले किसानलाई त्यसतर्फ आकर्षित गर्न खोजिएको हो,” खतिवडाले बताए ।

सहभागी महिलालाई प्रोत्साहनस्वरूप सिमी, धनियाँ, बोडीलगायत विभिन्न तरकारीका बीउसमेत वितरण गरिएको थियो ।

आयोजकका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा, विषादीरहित खाद्य उत्पादन र दिगो कृषि प्रणाली विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमले स्थानीय तहमा सुरक्षित, स्वस्थकर तथा गुणस्तरीय खाद्य उत्पादन बढ्नुका साथै जैविक खेतीप्रति किसानको आकर्षण समेत बढ्ने विश्वास गरिएको छ ।