ओखलढुंगाको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विवाद

सिद्धिचरण पहिलो, दोस्रो भएको सुनकोशीले पुरस्कार बुझेन

भिजन समाचार
106
Shares

ओखलढुंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–२०८२ को उपाधि सिद्धिचरण नगरपालिकाले जितेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित मानेभञ्ज्याङ गाउँपालिकाको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा सिद्धिचरण नगरपालिका प्रथम बनेको हो ।

जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजना र मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको थियो ।

विभिन्न खेल विधामा भएको प्रतिस्पर्धापछि सिद्धिचरण नगरपालिकाले ८ स्वर्ण, ४ रजत र १० कांस्यसहित कुल २२ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

त्यसैगरी सुनकोशी गाउँपालिकाले ७ स्वर्ण, ८ रजत र ५ कास्यसहित २० पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ भने आयोजक मानेभञ्ज्याङ गाउँपालिका ५ स्वर्ण, १ रजत र ४ कांस्यसहित १० पदक जितेर तेस्रो बनेको छ ।

खिजिदेम्बा गाउँपालिका ९ पदकसहित चौथो, लिखु गाउँपालिका १० पदकसहित पाँचौं, मोलुङ चम्पादेवी र चिशंखुगढी गाउँपालिकाले समान ७/७ पदक प्राप्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले गरेका थिए । समापन समारोहमा जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई र गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले विजेता खेलाडी तथा टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यद्यपि उप विजेता बनेको सुनकोशी गाउँपालिकाले भने ट्रफि र पुरस्कार बुझ्न अस्विकार गरेको छ ।

सुनकोशीले राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत छात्र भलिबलमा पराजित भएपछि चम्पादेवी गाउँपालिकाका खेलाडी सुरेश बिकको उमेर मापदण्ड र कार्यविधि विपरित रहेको आरोप लगाउँदै उजुरी गरेको थियो ।

जन्मदर्तामा उमेर सच्याइएको भन्दै जित बदर गर्न माग गरिए पनि आयोजक पक्षले खेलाडी योग्य रहेको निर्णय गरेपछि पाएको ट्रफी, मेडल र प्रमाणपत्र बुझ्न अस्वीकार गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङले जानकारी दिए । यसबारे आवश्यक छलफल गरेर कानुनी प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।