ओखलढुंगा । विद्यालय तहमा अध्ययनरत बालबालिकालाई बाल अधिकार सम्बन्धी सचेतना प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिकास्थित जाल्पा माध्यमिक विद्यालय र सगरमाथा जनता माध्यमिक विद्यालयका ७२ जना विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण दिइएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयको “सुरक्षा सुनिश्चितता अभियान” अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई बाल अधिकार तथा बालबालिकाविरुद्ध हुने अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इश्वर अधिकारीले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई बाल अधिकार, बालबालिकाविरुद्ध हुने विभिन्न अपराध, साइबर अपराध, दुर्व्यसन तथा हिंसाबाट बच्ने उपायका विषयमा जानकारी गराइएको थियो ।
विद्यालय तहदेखि नै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीमा कानुनी सचेतना अभिवृद्धि हुनुका साथै समाजमा हुने अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया