ओखलढुंगा । चितुवाको आक्रमणबाट पशुधन गुमाएका किसानलाई राहत रकम उपलब्ध गराइएको छ । कोशी प्रदेश सरकार अन्तर्गत प्रदेश वन निर्देशनालय, धरानले वन्यजन्तुबाट भएको क्षतिका पीडितहरूलाई राहत रकम भुक्तानी गरेको हो ।
निर्देशनालयले डिभिजन वन कार्यालय, ओखलढुंगाको सिफारिसका आधारमा पीडित तथा उनीहरूका हकवालाको बैंक खातामा रकम जम्मा गरिएको जानकारी दिएको छ । निर्देशनालयका अधिकृत राजन राईका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा “वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०” बमोजिम विभिन्न स्थानका पीडितहरूलाई राहत प्रदान गरिएको हो ।
यसअन्तर्गत जिल्लाको सिद्धिचरण नगरपालिका र खिजीदेम्बा गाउँपालिकाका ७ जना पीडितलाई राहत वितरण गरिएको छ । राहत पाउनेहरूमा सिद्धिचरण नगरपालिका–१ का मोहनकुमार घिमिरे, वडा नं. २ का महेशकुमार कटुवाल र रुद्रबहादुर कटुवाल, वडा नं. १२ का भुपबहादुर बस्नेत, वडा नं. ६ का मदनबहादुर मगर, वडा नं. ९ का एकराज अघामी तथा खिजीदेम्बा गाउँपालिका–६ का डावा शेर्पा रहेका छन् ।
उनीहरूलाई पशुधनतर्फ भएको क्षतिअनुसार जनही २० हजारदेखि ६० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइएको छ । विवरणअनुसार चितुवाको आक्रमणबाट बाख्रा, गाई र घोडी मारिएका थिए ।
प्रदेश वन निर्देशनालयले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । साथै, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रहरूमा सचेतना तथा संरक्षण सम्बन्धी कार्यक्रमलाई थप सुदृढ गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया