सुनकोशीमा तेस्रो अध्यक्षकप सम्पन्न, बाह्र लाख खर्च


ओखलढुंगा । सुनकोशी गाउँपालिकामा तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता करिब १२ लाख रुपैयाँ खर्चमा सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरे पनि थप व्यवस्थापन खर्च बढ्दा लागत करिब १२ लाख रुपैयाँ पुगेको शिक्षा शाखा प्रमुख एवम् अध्यक्षकप मूलसमारोह समिति संयोजक विवेक तामाङले जानकारी दिए ।

संयोजक तामाङका अनुसार प्रतियोगितामा भलिबल र ब्याडमिन्टनका विभिन्न विधामा प्रतिस्पर्धा भएको थियो । पुरुष भलिबलतर्फ वडा नं. ७ प्रथम, वडा नं. ५ द्वितीय, वडा नं. ८ तृतीय र वडा नं. १० सान्त्वना भएका छन् । विजेताहरूलाई क्रमशः एक लाख, ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै महिला भलिबलतर्फ वडा नं. ८ प्रथम, वडा नं. ७ द्वितीय, वडा नं. ५ तृतीय र वडा नं. ६ सान्त्वना भएका छन् । यसतर्फ विजेतालाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

ब्याडमिन्टनतर्फ जिल्ला स्तरीय प्रतियोगितामा हिरा राई र मनिष तामाङको जोडी विजेता बने भने रामकुमार राई र गोविन्द तामाङ उपविजेता भएका छन् । विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । पालिका स्तरीयतर्फ मनिष तामाङ र युनिश तामाङ विजेता तथा गंगाराम तामाङ र गोविन्दराम तामाङ उपविजेता बनेका छन्, जहाँ विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

भेट्रान ९०+ समूहमा हिरा राई र सर्वधन राई विजेता तथा कमल तामाङ र रामकुमार राई उपविजेता बनेका छन् । यस समूहका विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै सेमिफाइनलमा पुगेका ६ टिमलाई जनही १० हजार रुपैयाँका दरले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको छ । पुरुषतर्फ केशव कट्वाल सर्वोत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ इन्दिरा कार्की सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । साथै उत्कृष्ट ब्लकर, सर्वर, सेटर, डिफेन्डर, स्पाइकर तथा प्रशिक्षक विधामा समेत पुरस्कार वितरण गरिएको थियो ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल तामाङले खेलकुदमार्फत गाउँपालिकाको पहिचान देशभर स्थापित गर्नुपर्नेमा जोड दिए । उनले प्रतियोगिताको अवसरमा २८७०औँ बुद्ध जयन्ती, उभौली पर्व तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले सामाजिक एकता र युवाहरूको प्रतिभा विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । समापन कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी लगायत जनप्रतिनिधीहरु सहभागी थिए ।