ओखलढुंगा । जिल्लामा बुधबार अपरान्ह आएको शक्तिशाली हावाहुरीले व्यापक भौतिक क्षति पुर्याएको छ । विभिन्न पालिकामा घर, विद्यालय, टेलिकम संरचना तथा अन्य पूर्वाधारमा क्षति हुँदा हालसम्म कुल १७ लाख ३० हजार रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यसअघि प्रारम्भिक विवरणअनुसार ९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो । तर पछिल्लो विवरण संकलनसँगै क्षतिको आकार दोब्बर नजिक पुगेको प्रहरीले जनाएको छ । थप विवरण संकलनको काम अझै जारी रहेको छ ।
मोलुङ गाउँपालिका–१ ढकालगाउँमा भूपराज खत्रीको दुई तले पक्की घरको काठसहितको जस्ताको छाना हावाहुरीले उडाएर छिमेकी इन्द्रबहादुर ढकालको ढुंगा–माटोको गारो भएको घरमा पुर्याउँदा दुवै घरमा क्षति पुगेको छ । यस घटनाबाट खत्रीको १ लाख ५० हजार र ढकालको ३० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मोलुङ गाउँपालिका–७ बुनसा टोलमा कुसाङ शेर्पाको एक तले घरको जस्ताको छाना उडाउँदा १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा अझै त्रासमा रहेका छन् ।
चिशंखुगढी गाउँपालिका–५ पाखेमा रहेको नेपाल टेलिकमको टावरमा समेत हावाहुरीले असर पुर्याएको छ । टावरमा जडान गरिएका तार चुँडिनुका साथै नजिकैको जस्ताको छाना भएको संरचना समेत उडाउँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी निरीक्षक ईश्वर अधिकारीले जानकारी दिएका छन् ।
जिल्लाका अन्य विभिन्न स्थानमा पनि घर, विद्यालय र सार्वजनिक संरचनामा क्षति पुगेको विवरण आउन थालेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीले तत्काल राहत र पुनर्निर्माणको माग गरेका छन् ।

प्रतिक्रिया