बैशाख १५ पछि बनेका राहदानी घर–घरमै पुर्याइने


ओखलढुंगा । सेवाग्राहीलाई सहज, छिटो र झन्झटरहित सेवा उपलब्ध गराउने उद्देश्यले ओखलढुंगामा अब राहदानी (पासपोर्ट) घर–घरमै पुर्याइने छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र जिल्ला हुलाक कार्यालय बीचको सहकार्यमा उक्त सेवा कार्यान्वयनमा ल्याइने छ ।

सम्झौता अनुसार अब राहदानीका लागि आवेदन दिने नागरिकले आवश्यक प्रक्रिया पूरा गरी आफूले चाहेको स्थान, विशेषगरी आफ्नै घरमै पासपोर्ट प्राप्त गर्न सक्नेछन् ।

तर यो सेवा बैशाख १५ गतेपछि दर्ता गरिएका राहदानीका लागि मात्र लागू हुने जनाइएको छ । सेवाग्राहीले विवरण दर्ता गराउँदा नै अतिरिक्त ‘माग फारम’ भरी घरमै पासपोर्ट पठाइदिन निवेदन दिनुपर्नेछ । सोही निवेदनका आधारमा प्रशासनले तोकिएको अतिरिक्त शुल्क लिएर हुलाकमार्फत राहदानी पठाउनेछ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी मनोज कुमार मगरका अनुसार बैशाख १५ गतेअघि राहदानीका लागि आवेदन दिएका सेवाग्राहीले भने अनिवार्य रूपमा कार्यालयमै उपस्थित भई पासपोर्ट बुझ्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार सेवा हाल सिद्धिचरण नगरपालिकाबाट सुरु गरिएको हो । विशेषगरी दुर्गम क्षेत्रका बासिन्दा, ज्येष्ठ नागरिक तथा कार्यालयसम्म पुग्न कठिनाइ हुने सेवाग्राहीलाई यसले ठूलो राहत दिने अपेक्षा गरिएको छ । आगामी दिनमा अन्य पालिकामा पनि सेवा विस्तार गरिने तयारी गरिएको छ ।

कार्यालयका अनुसार नयाँ व्यवस्थाले सेवाग्राहीको समय, खर्च र झन्झट घटाउने विश्वास लिइएको छ । सम्बन्धित निकायले प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय मिलाइसकेको जनाउँदै सेवाग्राहीलाई निर्धारित प्रक्रिया पूरा गरी सेवाको उपयोग गर्न आग्रह गरिएको छ ।