ओखलढुंगा । सुनकोशी गाउँपालिकामा तेस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
खेलकुदले युवालाई अनुशासित, स्वस्थ र सक्रिय बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने अध्यक्ष तामाङले बताए ।
त्यस्तै, जिल्ला समन्वय समिति प्रमुख भट्टराईले खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्र निर्माणका लागि समेत महत्वपूर्ण आधार भएको धारणा राखे । उनले स्थानीय तहबीच सहकार्य, सद्भाव र एकता बढाउन यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताए ।
यस वर्ष प्रतियोगितामा भलिबल र ब्याडमिन्टन खेल समावेश गरिएको छ । उद्घाटनसँगै सुरु भएको भलिबलतर्फ आयोजक सुनकोशी गाउँपालिका कर्मचारीको टोलीले वडा नम्बर ३ लाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । यसैगरी, वडा नम्बर ७ ले वडा नम्बर २ लाई हराएको छ भने वडा नम्बर ५ ले वडा नम्बर १ लाई पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ ।
ब्याडमिन्टनतर्फ गाउँपालिका अध्यक्ष कमल तामाङ र वडा नम्बर ५ का अध्यक्ष सम्मिलित टोलीले मोलुङ गाउँपालिका वडा नम्बर ४ र वडा नम्बर ८ सम्मिलित टोलीलाई पराजित गर्दै जित हासिल गरेको छ ।
स्थानीय तहबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत स्वास्थ्य र एकता प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । आगामी वर्ष अध्यक्ष कपकाे नाम परिवर्तन गरेर ‘सुनकाेशी कप’ नामाकरण गर्दै प्रतियाेगिता सञ्चालन गरिने अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया