ओखलढुंगा । सूचनाको हकको सही अभ्यासले सार्वजनिक निकायलाई पारदर्शी र उत्तरदायी बनाउने विषयमा अन्तरक्रिया भएकाे छ । सूचनाको हकसम्बन्धी जनचेतना अभिवृद्धि तथा यसको प्रभावकारी कार्यान्वयनका विषयमा ओखलढुंगामा आयाेजित अन्तरक्रिया कार्यक्रममा सूचनाकाे हक कार्यन्वयन र प्रभावकारिता बारे छलफल भएकाे हाे ।
राष्ट्रिय सूचना आयोगको आयोजना तथा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको समन्वयमा आयाेजित कार्यक्रममा आयोगकी सूचना आयुक्त दुर्गा भण्डारी पैडेलले सूचनाको हकको ऐतिहासिक पृष्ठभूमि, व्यवहारिक प्रयोग तथा सार्वजनिक निकायको दायित्वबारे जानकारी गराइन् । साथै नागरिक सचेतना र संस्थागत उत्तरदायित्व दुवै अपरिहार्य रहेको उनको भनाइ छ ।
आयोगका उपसचिव नारायण खतिवडाले सूचनाको वर्गीकरण, अद्यावधिक तथा नियमित सार्वजनिक प्रकाशनको आवश्यकता औंल्याउँदै नागरिकलाई सूचनामा सहज र सरल पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जिल्लाका सरकारी कार्यालयहरूले त्रैमासिक रूपमा आफ्ना गतिविधि सार्वजनिक गर्ने अभ्यास रहेको जानकारी दिए । कानुनले रोक लगाएका बाहेक नागरिक तथा सञ्चारमाध्यमले माग गरेका सूचनाहरू उपलब्ध गराउने गरिएको उल्लेख गर्दै उनले सूचनासम्बन्धी गुनासो न्यून रहेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले सूचना र प्रविधिको युगमा सार्वजनिक निकायहरू नागरिकप्रति अझ जिम्मेवार बन्नुपर्ने बताए । नागरिकले मागेको सूचना समयमै उपलब्ध गराउनु लोकतान्त्रिक शासन प्रणालीको आधारभूत पक्ष भएको उनको भनाइ थियो ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया