ओखलढुंगा । लिखु गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती शिविरमार्फत घरेलु तथा साना उद्योग सम्बन्धी सेवा प्रदान गरिएको छ । शिविरबाट नौ जना व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगा र लिखु गाउँपालिकाको सहकार्यमा आयोजना गरिएको शिविरमा तीन वटा नयाँ व्यवसाय दर्ता, पाँच वटा नवीकरण र एक वटा ठाउँसारी सेवा प्रदान गरिएको कार्यालय प्रमुख रुद्रबहादुर श्रेष्ठले जानकारी दिए ।
गाउँमै पुगेर व्यवसायीलाई सहज र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।
यस्तै, शिविरकै अवसरमा गाउँपालिकाभित्रका ११ वटा होटल, फर्निचर उद्योग, कृषि फार्म तथा मिलहरूको अनुगमन समेत गरिएको सूचना अधिकारी रविना राईले बताइन् ।
अनुगमनका क्रममा दर्ता नभएका, आवश्यक कागजात पूरा नगरेका तथा प्रक्रिया नपुगेका उद्योगहरूलाई वैधानिक रूपमा दर्ता भई सञ्चालन गर्न सचेत गराइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया