ओखलढुंगा । भोलि सोमबारबाट सुरु हुने कक्षा–१२ को वार्षिक परीक्षामा ओखलढुंगा जिल्लाबाट कुल २ हजार ४०३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालका अनुसार यस वर्ष जिल्लाभरि ९ वटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुनेछ । तीमध्ये नियमिततर्फ १ हजार ६८५ जना र ग्रेड वृद्धितर्फ ७१८ जना परीक्षार्थी रहेका छन् ।
परीक्षा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ । परीक्षा केन्द्रहरूमा आवश्यक जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध तथा अनुगमनको व्यवस्था मिलाइएको इकाईले जनाएको छ ।
निर्धारित समयमै परीक्षा सञ्चालन हुने भएकाले सबै परीक्षार्थीलाई समयमै परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ । साथै परीक्षा मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको इकाईले उल्लेख गरेको छ ।

प्रतिक्रिया