ओखलढुंगा । खिजिदेम्बाकाे चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरले संघीय सांसद विश्वराज पोखरेलसँग जोडिएको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएको घटनाबारे स्पष्ट पार्दै उनले आफूलाई सांसद विद्यालयमा आइपुगेको जानकारी नै नभएको बताएका छन् ।
प्रअ मगरका अनुसार उक्त दिन उनी विद्यालयको मागपत्र तयार गर्ने काममा व्यस्त थिए । “मागपत्र बनाउन करिब डेढ घण्टा लाग्यो, बीचमा तीन पटक बत्ती गएको थियो । त्यही क्रममा उहाँ भित्र आइसक्नुभएको रहेछ, मलाई थाहा भएन,” उनले भने ।
उनले सांसदको स्वागतका लागि विद्यालयले आवश्यक सम्पूर्ण तयारी गरेको पनि दाबी गरेका छन् । कार्यक्रममा प्रयोग गर्न खादा र माला तयार गरिएको उल्लेख गर्दै उनले भने, “छोरीलाई बिहानैदेखि फूल खोज्न लगाएको थिएँ । गाउँमा फूलको अभाव थियो, साना फूल टिपेर माला बनाइएको थियो । सम्मान नगर्ने भए त्यो माला किन बनाउँथेँ र ?”
प्रारम्भमा विद्यालयमा औपचारिक कार्यक्रम गर्ने योजना भए पनि पछि कार्यक्रम स्थगित भएको सूचना प्राप्त भएपछि आफूहरू मागपत्रसहित सांसदलाई भेट्न जाने तयारीमा रहेको उनले बताए । तर सो तयारी पूरा हुन नपाउँदै विवाद उत्पन्न भएको उनको भनाइ छ । “त्याे बेला समान्य लागेकाे थियाे, अहिले भिडियाे हेर्दा पाे धेरै भन्नुभएकाे रहेछ,” मगरले थपे ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद पोखरेलले “माननीय आउँदा बेवास्ता गर्ने ?” भन्दै प्रधानाध्यापक मगरलाई झपारेको सुनिन्छ । उक्त घटनापछि सांसदको व्यवहारप्रति चौतर्फी आलोचना भइरहेको छ ।
यस घटनाले जनप्रतिनिधिको आचरण, संवादको अभाव र वास्तविक अवस्थाबारे व्यापक बहस सिर्जना गरेको छ । यता शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएको छ भने सांसद पोखरेलले पनि विज्ञप्तिमार्फत् माफी मागिसकेका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी खिजिदेम्बाले भिडियो तोडमोड गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया