चाैतर्फी दबाबपछि ओखलढुंगा बसपार्क सञ्चालन

भिजन समाचार
310
Shares

ओखलढुंगा । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको ओखलढुंगाको रमाइलोडाँडास्थित बसपार्क अन्ततः सञ्चालनमा आएको छ । चौतर्फी गुनासो र दबाब बढेपछि सिद्धिचरण नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो ।

करिब डेढ वर्षअघि निर्माण सम्पन्न भए पनि प्रयोगमा नआउँदा यातायात व्यवस्थापन अस्तव्यस्त बन्दै गएको थियो । स्थानीय सरोकारवाला, व्यवसायी तथा नागरिकहरूले बारम्बार आवाज उठाउँदै नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।

यसैबीच, गत सोमबार प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, नगरप्रमुख तेजन खनाल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको संयुक्त बैठकले बसपार्क तत्काल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार आज (बैशाख २ गते) देखि बसपार्क पुनः सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले सवारी साधनलाई अनिवार्य रूपमा बसपार्कभित्रबाटै सञ्चालन गर्न निर्देशन दिएको छ भने नियम कार्यान्वयनमा कडाइ गरिने जनाएको छ ।

सिद्धिचरण नगरपालिकाका नगर प्रहरी प्रमुख टेकप्रसाद अधिकारीका अनुसार बसपार्क बाहिरबाट सवारी सञ्चालन गर्न नदिने र उल्लंघन गर्नेहरूलाई कारबाही गरिनेछ । नगरप्रमुख तेजन खनालले बसपार्कलाई दीगो र व्यवस्थित रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।

बसपार्क सञ्चालनसँगै बजार क्षेत्रमा सवारी चाप घट्ने, दुर्घटनाको जोखिम न्यून हुने र यात्रुहरूले सहज तथा सुरक्षित सेवा पाउने अपेक्षा गरिएको छ । बजार क्षेत्र र सडक किनारामा पार्क गरिने सवारी साधनहरु बस पार्कमा राख्न थालिएकाे छ ।