ओखलढुंगा । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा सम्पन्न दोस्रो खुल्ला मिनि म्याराथुन प्रतियोगितामा पुरुषतर्फ श्रीकेश राई र महिलातर्फ दिलमाया तामाङ विजयी भएका छन् ।
नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ओखलढुंगाको आयोजनामा शुक्रबार “स्वास्थ्यका लागि खेलकुद, पर्यटनका लागि खेलकुद र राष्ट्रियताका लागि खेलकुद” भन्ने मूल नारासहित प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ खोटाङका श्रीकेश राई प्रथम भए भने सिन्धुपाल्चोकका राजेन्द्र तामाङ द्वितीय र खोटाङकै श्रीराज राई तृतीय स्थानमा भए । यस्तै महिलातर्फ ओखलढुंगाकी दिलमाया तामाङ प्रथम, प्रिया सुनुवार द्वितीय र सुशीला शेर्पा तृतीय भएकी छन् ।
विजेताहरूलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री प्रदिप कुमार सुनुवार, गाउँपालिका अध्यक्ष गम्बु शेर्पा तथा संघका अध्यक्ष फुरी शेर्पाले संयुक्त रूपमा नगद पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुने धावकहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ ३४ र महिलातर्फ १९ जना धावक सहभागी भएका थिए । वडा नं. ५ खिजिफलाटेबाट सुरु भएको १२ किलोमिटर लामो दौड चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, रामदिङ गोमासे ताउर हुँदै पुनः खिजिफलाटे बजारमा आएर सम्पन्न भएको आयोजकले जनाएको छ ।
खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । हरेक वर्ष गाउँपालिकाकाे सहयेगमा पर्यटन प्रवर्द्धनकालागि विभिन्न खेलकुदका प्रतियाेगिताहरु सञ्चालन हुने गरेका छन् । आगामी वैशाख १ गते जिल्लाकै अग्लाे थाेलेदेम्बाडाँडामा खुला गल्फ प्रतियाेगिता हुने गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया