ओखलढुंगामा १९८ विपद्जन्य घटना, पहिरो सबैभन्दा बढी

भिजन समाचार
46
Shares

ओखलढुंगा । चालु वर्षमा ओखलढुंगामा कुल १९८ वटा विपद्जन्य घटना दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी पहिरोका घटना रहेका छन् भने आगलागी दोस्रो स्थानमा छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसीका अनुसार वर्षभरिमा १०१ वटा पहिरोका घटना भएका छन् । त्यसैगरी ७६ वटा आगलागी, १५ वटा बाढी, ५ वटा चट्याङ र १ वटा हावाहुरीका घटना भएका छन् ।

विपद्जन्य घटनामा परी दुई जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन् । यस्तै १२ भन्दा बढी घरगोठमा क्षति पुग्दा लाखौँ रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

हालै सार्वजनिक तथ्याङ्कले जिल्लामा प्राकृतिक विपद् विशेषगरी वर्षायाममा बढी सक्रिय रहने देखाएको छ । पहाडी भू–बनावटका कारण पहिरोको जोखिम उच्च रहने र सुक्खा मौसममा आगलागीका घटना बढ्ने गरेको प्रहरीको भनाइ छ ।

विपद् व्यवस्थापनका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । समयमै सचेतना, पूर्वतयारी र जोखिम न्यूनीकरणका उपाय अपनाउन सके सम्भावित क्षति कम गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

जिल्लामा विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै जनचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै आपत्कालीन तयारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा प्रहरीले जोड दिएको छ ।