केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम

भिजन समाचार
90
Shares

ओखलढुंगा । राष्ट्रिय परीक्षा बोर्डको बार्षिक परीक्षा सञ्चालनका लागि नियुक्त केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय लाहानको आयोजना र शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाको सहजिकरणमा जिल्ला प्रशासन कार्यालयको सभाहलमा मंगलबार एकदिने तालिम सञ्चालन गरिएको हो । तालिममा केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन, प्रश्नपत्र ढुवानी, र परीक्षालाई निष्पक्ष, मर्यादित तथा व्यवस्थित बनाउन आवश्यक निर्देशन दिइएको थियो ।

शिक्षा विकास तथा समन्वय एकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालले केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम आवश्यक रहेको बताए भने राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय लाहानका प्रमुख सञ्जय पाण्डेले प्रशासनिक र प्राविधिक पक्षमा स्पष्ट निर्देशन दिए ।

ओखलढुंगामा कक्षा–१२ को परीक्षा आगामी बैशाख १४ गतेबाट सुरु हुँदैछ । यस वर्ष जिल्लामा ९ परीक्षा केन्द्रमा २ हजार ४०३ जना परीक्षार्थी सहभागी हुनेछन् । नियमित तर्फ १ हजार ६८५ र ग्रेड वृद्धितर्फ ७१८ जना परीक्षार्थी छन् ।