शैक्षिक सत्र सुरु हुनु अघि भर्ना र भर्ना शुल्क नलिन निर्देशन

भिजन समाचार
34
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न र कुनै पनि शुल्क नलिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले जारी गरेको पत्रमा केही विद्यालयहरूले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने र अग्रिम शुल्क असुल्ने गरेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ । यस्ता गतिविधि प्रचलित शिक्षा नियमावली विपरीत रहेको भन्दै मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न पाइने र स्वीकृत शीर्षकमा तोकिएको शुल्क मात्र लिन पाइने व्यवस्था छ । त्यस विपरीत अग्रिम शुल्क लिने, बढी शुल्क असुल्ने तथा एउटै विद्यार्थीबाट पटक–पटक शुल्क लिने जस्ता कार्य भएको पाइए कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिइएको छ ।

मन्त्रालयले स्थानीय तह तथा सम्बन्धित निकायलाई यस्ता कार्य तुरुन्त रोक्न, यदि अग्रिम शुल्क असुलिएको भए फिर्ता गराउन र नियम विपरीत कार्य गर्ने विद्यालयमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।