ओखलढुंगामा एसईईसँगै उत्तरपुस्तिका परीक्षण तीव्र

सांकेतिक तस्वीर।

ओखलढुंगा । माध्यमिक शिक्षा परीक्षा (एसईई) सँगै जिल्लामा उत्तरपुस्तिका परीक्षण कार्य तीव्र रूपमा अघि बढाइएको छ । परीक्षा नियन्त्रण कार्यालयको निर्देशन अनुसार जिल्लाका सबै ११ वटा परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच भइरहेको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाका प्रमुख सुरेश ढकालका अनुसार परीक्षा सकिएकै दिनदेखि उत्तरपुस्तिका संकलन गरी केन्द्रमै परीक्षण सुरु गरिएको छ । परीक्षणका लागि विषयगत शिक्षकहरू केन्द्राध्यक्षमार्फत खटाइएका छन् भने निष्पक्षता कायम गर्न फरक विद्यालयका शिक्षकबाट मात्र जाँच गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

उनका अनुसार परीक्षण सम्पन्न भई नतिजा विवरण इकाइमा आइपुग्न २ देखि ३ दिनसम्म लाग्ने गरेको छ । हाल जाँच गरिएका उत्तरपुस्तिकाको विवरण सम्बन्धित केन्द्रबाट संकलन गरी इकाइमा प्रविष्ट गर्ने काम भइरहेको छ । सबै उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि एकमुष्ट रूपमा इकाइमार्फत परीक्षा नियन्त्रण कार्यालयमा पठाइने व्यवस्था रहेको छ ।

इकाइ प्रमुख ढकालले विभिन्न परीक्षा केन्द्रमा पुगेर अनुगमनसमेत गरिरहेको बताउँदै हालसम्म परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार जिल्लामा कुनै अप्रिय घटना वा समस्या देखिएको छैन ।

यस वर्ष ओखलढुंगामा एसईई परीक्षामा कुल २ हजार २१५ परीक्षार्थी सहभागी छन् । तीमध्ये १३३ प्राविधिक, २ हजार २६ साधारण तथा ५६ ग्रेडवृद्धिका विद्यार्थी रहेका छन् । जिल्लाका ११ केन्द्रमध्ये ९ वटामा प्राविधिक र साधारण धारका विद्यार्थीले एकै केन्द्रबाट परीक्षा दिएका छन् ।