मालपोत कार्यालयद्वारा ९३ लाख बढी राजश्व संकलन

भिजन समाचार
52
Shares

ओखलढुंगा । मालपोत कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ९३ लाख ३१ हजार ८२ रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख निर कुमार ढुंगानाका अनुसार सबैभन्दा धेरै राजश्व रजिष्ट्रेशनतर्फबाट ९० लाख ६९ हजार ८६२ रुपैयाँ संकलन भएको हो । यस्तै मुद्दा फाँटबाट दुई लाख ३६ हजार १२० रुपैयाँ र मोठ फाँटबाट २५ हजार १०० रुपैयाँ राजश्व संकलन भएको छ ।

रजिष्ट्रेशनतर्फ संकलित राजश्वमध्ये पुँजीगत लाभकरबाट १५ लाख ४० हजार ९७० रुपैयाँ र अन्य शीर्षकबाट १८ हजार ३०० रुपैयाँ उठेको कार्यालयले जनाएको छ ।

यस अवधिमा कार्यालयले महिला, दलित तथा लक्षित सेवाग्राहीलाई सेवा शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । सोही अनुसार १८३ जना महिलाले ७ लाख ६ हजार १९६ रुपैयाँ बराबरको छुट पाएका छन् भने २१ जना दलित सेवाग्राहीले ७२ हजार ८७४ रुपैयाँ छुट सुविधा लिएका छन् ।

मोट फाँटतर्फ २३ वटा पूर्जा प्रतिलिपिबाट १४ हजार ३०० रुपैयाँ र ४७ वटा श्रेस्ताबाट १० हजार ८०० रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यसैगरी मुद्दा फाँटअन्तर्गत १४२ वटा नामसारीबाट दुई लाख ५४ हजार ६०० रुपैयाँ, ३७ वटा संशोधनबाट ११ हजार ५० रुपैयाँ, २५ वटा दाखिल खारेजबाट ४८ हजार ५८० रुपैयाँ र तीन वटा घर कायमबाट नौ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

मालपोत कार्यालय ओखलढुंगामा र मालपोत कार्यालय खिजीफलाटे गरी दुई ठाउँमा सञ्चालनमा रहेका छन् । याे विवरण मालपोत कार्यालय ओखलढुंगाको मात्र भएको कार्यालयले जनाएको छ ।