ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग एक महिनादेखि सिल रहँदा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ । आवश्यक कानुनी प्रक्रिया तथा वातावरणीय मापदण्ड पूरा नगरेको भन्दै डिभिजन वन कार्यालयले उद्योग सिल गरेपछि उत्पादन पूर्ण रूपमा ठप्प भएको हो ।
चाइनीज होओचेङ बायोटेक्नोलोजी प्रालिद्वारा सञ्चालित उक्त उद्योगमा प्रशोधनका लागि संकलन गरिएको कच्चा जडीबुटी समयमै प्रयोग गर्न नसक्दा सडेर नष्ट भएको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगका व्यवस्थापक हरि श्रेष्ठका अनुसार आवश्यक कागजात पेश गरिसकिएको भए पनि प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन अझै प्राप्त नभएकाले उद्योग सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको छ । लामो समय उद्योग बन्द रहँदा कच्चा पदार्थ नष्ट हुनुका साथै थप आर्थिक क्षति पनि भइरहेको श्रेष्ठले बताए ।
उद्योग निर्माणमा हालसम्म करिब तीन करोड रुपैयाँ लगानी भइसकेको र पूर्ण सञ्चालनमा आएपछि कुल लागत पाँच करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । तर सञ्चालन रोकिँदा लगानी जोखिममा पर्ने अवस्था देखिएको छ ।
यता डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख मनाराज राईले आवश्यक प्रतिवेदन प्राप्त नभएसम्म उद्योग सञ्चालन अनुमति दिन नसकिने स्पष्ट पारे । उनका अनुसार वन क्षेत्रसँग सम्बन्धित दूरी कायम प्रतिवेदन र मन्त्रालयबाट जारी हुने आईईई प्रतिवेदन प्राप्त हुन बाँकी छ ।
सबै कानुनी प्रक्रिया र वातावरणीय मापदण्ड पूरा भएपछि मात्र उद्योग सञ्चालनबारे निर्णय गरिने जनाइएको छ । हाल उद्योग पुनः सञ्चालन हुने समयबारे अन्योल कायम रहँदा उद्योगी पक्ष थप चिन्तित बनेका छन् ।

प्रतिक्रिया