ओखलढुंगा । लिखु गाउँपालिका–६ स्थित ग्रामोदय युगकवी सिद्धिचरण माध्यमिक विद्यालयमा व्यवस्थापन समिति र पूर्व प्रधानाध्यापकबीचको विवाद दिनानुदिन चर्किँदै गएको छ । विद्यालयका निवर्तमान प्रधानाध्यापक नेत्रकुमारी पौडेलले आफूलाई अन्यायपूर्ण रूपमा पदबाट हटाइएको आरोप लगाउँदै विद्यालय परिसरमै कालो झण्डा गाडेर शान्तिपूर्ण विरोध गर्ने घोषणा गरेकी छन् ।
गाउँपालिकाको कार्यालयलाई सम्बोधन गर्दै दिएको निवेदनमा पौडेलले कुनै स्पष्ट प्रमाण, स्पष्टीकरणको अवसर तथा कानुनी प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाइएको उल्लेख गरिन् । उनले विद्यालय व्यवस्थापन समितिको निर्णयलाई अपारदर्शी, पक्षपातपूर्ण र नियमविपरीत भएको आरोपसमेत लगाएकी छन् । उक्त निवेदन उनले फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
पूर्व प्रधानाध्यापक पौडेलका अनुसार पाँच वर्षे करार अवधिको सुरुवाती चरणमै आफूलाई पदमुक्त गरिएको हो । यस घटनाले विद्यालयको सुशासन, उत्तरदायित्व र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको उनले बताएकी छन् ।
“यस निर्णयले मेरो व्यक्तिगत प्रतिष्ठा, मानसिक अवस्था र पेशागत मर्यादामा गम्भीर असर परेको छ,” निवेदनमा उल्लेख गरिएकाे छ ।
विवाद थप चर्किने संकेत देखिँदै जाँदा पौडेलले विद्यालय परिसरमै कालो झण्डा गाडेर विरोध जनाउने घोषणा गरेकी हुन् । यद्यपि उनले विरोधका क्रममा विद्यालयको नियमित पठनपाठन तथा अन्य शैक्षिक गतिविधिमा कुनै अवरोध नपु¥याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यसैबीच, उनले गाउँपालिका तथा सम्बन्धित निकायसँग १३ बुँदे प्रश्न सार्वजनिक गर्दै स्पष्ट जवाफ माग गरेकी छन् । ती प्रश्नहरूमा बर्खास्तीको कानुनी आधार, नयाँ प्रधानाध्यापक नियुक्तिको प्रक्रिया, विद्यालयको आर्थिक कारोबार, बजेट कार्यान्वयन, भवन निर्माण खर्च तथा व्यवस्थापन समितिको भूमिकाबारे पारदर्शिता खोजिएको छ ।
विशेषगरी विद्यालय भवन निर्माणका क्रममा भएको खर्च, सामग्री बिक्रीबाट प्राप्त आम्दानी तथा खाजा कार्यक्रमको बजेट उपयोगबारे स्पष्ट विवरण सार्वजनिक नभएको आरोप उनले लगाएकी छन् ।
स्थानीय तहमा शिक्षा क्षेत्रसँग जोडिएको यो विवादले अब थप राजनीतिक तथा सामाजिक बहस सिर्जना गर्ने संकेत देखिएको छ । सम्बन्धित निकायले समयमै स्पष्टता नदिए विवाद अझ जटिल बन्न सक्ने भन्दै स्थानीय सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया