ओखलढुंगाको मोलुङ गाउँपालिकामा पाँच स्काउट दलको संयुक्त तीन दिने हाइकिङ तथा क्याम्पिङ कार्यक्रम आजबाट सुरु भएको छ । फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम संयुक्त मोलुङ स्काउट दलको आयोजनामा सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन स्थानीय स्काउट मोलुङका संरक्षणकर्ता तथा गाउँपालिका अध्यक्ष उत्तम राईले गरेका छन् । बरुनेश्वर माविका शिक्षक एवम् क्याम्प चिफ भिष्मराज दाहालका अनुसार गाउँपालिका भित्रका पाँच विद्यालयका करिब दुईसय जना स्काउटर विद्यार्थी कार्यक्रममा सहभागी रहेका छन् ।
सहभागी विद्यालयहरूमा बरुनेश्वर मा.वि रामपुर, गणेश मा.वि ढुस्के, सरस्वती मा.वि बुङनाम, जीवन प्रदीप मा.वि हर्कपुर र शिवदुति मा.वि प्राप्चा रहेका छन् ।
क्याम्प चिफ दाहालका अनुसार कार्यक्रममार्फत विद्यार्थीहरूलाई विभिन्न जीवनोपयोगी सीप सिकाइनेछ । आत्मनिर्भरता अभिवृद्धि गर्ने, अनुशासन तथा सामाजिककरण प्रवर्द्धन गर्ने, नेतृत्व क्षमता विकास गर्ने र सेवाभावसम्बन्धी गतिविधिहरू सञ्चालन गरिनेछन् । हाइकिङ तथा क्याम्पिङमार्फत विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै समूहमा काम गर्ने क्षमता अभिवृद्धि गराउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
कार्यक्रम सञ्चालनका लागि मोलुङ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ । कार्यक्रम बरुनेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडाको अध्यक्षतामा उद्घाटन गरिएको क्याम्प चिफ दाहालले जानकारी दिए ।
ग्रामीण क्षेत्रमा स्काउट गतिविधिमार्फत विद्यार्थीमा जीवनोपयोगी सीप विकास र नेतृत्व क्षमताको अभिवृद्धि गर्न यस्ता कार्यक्रमले सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया