ओखलढुंगाको सुनकोशी गाउँपालिकामा सम्पन्न गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि प्रवुद्ध माध्यमिक विद्यालय च्यानमले हात पारेको छ ।
प्रतियोगितामा प्रवुद्ध माविले १४ स्वर्ण, ८ रजत र १ कास्य पदक सहित कुल २३ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
त्यसैगरी चौतारा माध्यमिक विद्यालय, डाँडाखर्कले ६ स्वर्ण, ४ रजत र ३ कास्यसहित कुल १३ पदक जित्दै दोस्रो स्थानमा रह्यो भने कालिका माध्यमिक विद्यालय, सिस्नेरीले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी कुल १२ पदकसहित तेस्रो स्थान प्राप्त गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक तामाङले बताए ।
प्रतियोगितामा सुनकोशी गाउँपालिका भित्रका १३ वटा माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा तेस्रो हुने विद्यालयलाई नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। पुरस्कार वितरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी लगायतका अतिथिहरूले गरेका छन् ।
१५ देखि १७ गते सम्म मुलखर्कमा प्रतियाेगिता सञ्चालन भएकाे थियाे । गत वर्ष पनि सुनकोशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रवुद्ध माध्यमिक विद्यालयले नै जितेको थियो ।

प्रतिक्रिया