ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा सम्पन्न पाँचौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालय सिद्धिचरण नगरपालिका–४ ले जितेको छ ।
प्रतियोगितामा २७ स्वर्ण, १० रजत र १० कास्य गरी कुल ४७ पदक प्राप्त गर्दै रुम्जाटार मावि पहिलो स्थानमा रहन सफल भएको हो ।
यस्तै सगरमाथा जनता माविले ११ स्वर्ण, १० रजत र आठ कास्यसहित कुल २९ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । छ स्वर्ण, सात रजत र १४ कास्यसहित २७ पदक प्राप्त गरेको लालिगुराँस इंलिस स्कुल तृतीय भएको शिद्धिचरण नगरपालिका शिक्षा शाखा प्रमुख फणिन्द्र बहादुर कट्वालले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाभरका १८ वटा माध्यमिक तहका विद्यालयहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २० हजार १५ हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।
रुम्जाटार माबिले यो सँगै लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्डको उपाधी जितेकाे छ । पौष २५ गते कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री प्रदिप कुमार सुनुवारले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया