विद्यालयलाई साउन्ड सिस्टम र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भिजन समाचार
72
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिका–२ ढुस्केमा रहेको गणेश माध्यमिक विद्यालय ढुस्केलाई वरुणेश्वर सेवा समाजले साउन्ड सिस्टम तथा स्टेशनरी सामग्री प्रदान गरेको छ ।

विद्यालयलाई एक थान साउन्ड सिस्टम हस्तान्तरण गर्नुका साथै कक्षा ५ सम्म अध्ययनरत २१ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको समाजका अध्यक्ष तोया काफ्लेले जानकारी दिए ।

आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीको मनोबल बढाउने, अध्ययनमा निरन्तरता ल्याउने र विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले उक्त सहयोग गरिएको उनले बताए । विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनलाई सहज बनाउन समाजले साउन्ड सिस्टम दिएको छ ।

शिक्षा क्षेत्रको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै वरुणेश्वर सेवा समाजले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यस सहयोगले विद्यालयका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहजता आउने, विद्यार्थीको मनोबल बढ्ने र अध्ययनप्रति आकर्षण बढ्ने विद्यालयका प्रधानाध्यापक योगेन्द्र धमलाले बताए । समाजप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।