ओखलढुंगाको सानीटारका विद्यार्थीलाई लागुऔषध प्रयोग तथा ओसारपसार विरुद्ध सचेत गराइएको छ । पछिल्लो समय जिल्लामा लागुऔषध प्रयोग र ओसारपसारका घटना बढ्दै गएको अवस्थामा यसलाई रोकथाम गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आयोजनामा तथा विद्यालयको समन्वयमा सिद्धिचरण नगरपालिका–५ सानीटारस्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत ५० भन्दा बढी विद्यार्थीलाई सचेतना प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रशासकीय अधिकृत रोशन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागुऔषधको प्रयोगले व्यक्तिगत, सामाजिक, आर्थिक तथा स्वास्थ्यमा पार्ने नकारात्मक असर, लागुऔषध प्रयोग र ओसारपसारमा संलग्न भएमा लाग्ने कानुनी कारबाही लगायतका विषयमा जानकारी गराइएको थियो ।
विद्यालय उमेरका बालबालिका लागुऔषधको जोखिममा रहने भएकाले उनीहरुलाई दुव्र्यसनबाट जोगाउने र उनीहरूमार्फत समुदायमा समेत सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका–५ का वडा अध्यक्ष डिल्लीशेर राई, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज वानिया तथा विद्यालयका प्रधानाध्यापक नानीराज गुरुङले लागुऔषधका कारण युवाहरू कुलतमा फस्दै गएको र त्यसकै कारण जिल्लामा जघन्य अपराधका घटना समेत सार्वजनिक भइरहेका सन्दर्भमा विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया