ओखलढुंगाको लिखु गाउँपालिका–१ काे चिउरीडाँडा माध्यमिक विद्यालयमा दुई जना समाजसेवीले विद्यार्थी तथा शिक्षकलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
शुक्रबार लिखु गाउँपालिका–१ का अनिलराज सुवेदी र चम्पादेवी गाउँपालिका–१० का मनोज बोकटीले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई विद्यालय पोशाक तथा स्कुल ब्याग प्रदान गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक नोमराज सुवेदीका अनुसार ८२ जना विद्यार्थी र १६ जना शिक्षकलाई करिब दुई लाख रुपैयाँ बराबरको विद्यालय पोशाक तथा झोला (स्कुल ब्याग) सहयोग गरिएको हो । विद्यार्थीलाई विद्यालय पोशाक र स्कुल ब्याग तथा शिक्षकलाई विद्यालयको नाम अंकित ब्याग वितरण गरिएको उनले बताए ।
समाजसेवीहरूको यस सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै विद्यालयप्रतिको आकर्षण पनि बढ्ने प्रधानाध्यापक सुवेदीको भनाइ छ । यस्ता सहयोगले शिक्षण–सिकाइ क्रियाकलापमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उनले सहयोगीप्रति धन्यवाद ज्ञापन गरे ।
विद्यालय प्रशासनका अनुसार प्राप्त सहयोगले शिक्षाको पहुँच विस्तार तथा गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया