ओखलढुंगामा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्कँदै गएको भन्दै सुधारका लागि सरोकारवालाहरूले विद्यालय समायोजनदेखि विद्यार्थीमा मोबाइल फोनको प्रयोग न्यूनीकरण गर्ने सम्मका सुझाव दिएका छन् ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न छलफल कार्यक्रममा आगामी शैक्षिक सत्रबाट शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन र गुणस्तर वृद्धि गर्ने विषयमा जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका हुन् ।
कार्यक्रममा बरुणेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद खतिवडा, रुम्जाटार माविका प्रअ गोकर्ण बानियाँ र बिगुटार माविका प्रअ युवराज दाहालले जिल्लाको शैक्षिक सुधारका लागि सुझावसहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यपत्रमा विद्यार्थी संख्या न्यून भएका तथा दूरीका हिसाबले दुई किलोमिटरभित्र रहेका विद्यालयहरू मर्ज गर्ने, प्रत्येक स्थानीय तहमा दुईदेखि तीन वटा मात्र माध्यमिक विद्यालय कायम गर्ने, शिक्षा बैंक स्थापना गर्ने, शिक्षालाई प्रविधिमैत्री बनाउने र पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको मोबाइल फोनको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्नुपर्ने सुझाव समेटिएको छ ।
यस्तै, आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नादर केही प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिने र हरेक शिक्षकलाई वर्षमा न्यूनतम ४० घण्टा पेशागत विकास तालिम उपलब्ध गराउने सुझाव पनि कार्यपत्रमा उल्लेख गरिएको छ ।
छलफलपछि सहभागीहरूको सुझावसहित ओखलढुंगाको शिक्षा नीति सर्वसम्मत रूपमा स्वीकृत गर्दै आगामी शैक्षिक सत्रबाट लागू गर्ने निर्णय गरिएको छ । यसले जिल्लाको समग्र शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति ओखलढुंगाको आयोजनामा तथा शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुंगाको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका निवर्तमान अर्थ समिति सभापति मोहनकुमार खड्काको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको अध्यक्षता रहेको थियो ।
छलफल कार्यक्रममा स्थानिय तहका प्रमुख तथा प्रतिनिधी साथै सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया