ओखलढुंगाको मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाका चार जना समाजसेवीले संयुक्त रूपमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
मोलुङ गाउँपालिकाका गंगा बहादुर कार्की, पुष्कर थापा, रामजी दाहाल र सिद्धिचरण नगरपालिका–४ घर भई हाल अमेरिका बस्दै आएका बिराज भण्डारीले एक लाख ५० हजार रुपैयाँ संकलन गरी पाँच वटा विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् ।
गंगा बहादुर कार्की र बिराज भण्डारीको आर्थिक सहयोग तथा पुष्कर थापा र रामजी दाहालको पहलमा मोलुङ गाउँपालिका–१ झगरपुरस्थित जलकन्या आधारभूत विद्यालय, मोलुङ–५ केउरेनीको पञ्चकन्या आधारभूत विद्यालय, मोलुङ–६ पत्करीस्थित जनसहयोग आधारभूत विद्यालय, मोलुङ–७ कात्तिकेस्थित जनकल्याण आधारभूत विद्यालय तथा चम्पादेवी गाउँपालिका–८ स्थित कल्पेश्वर माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको हो ।
युवा समाजसेवी पुष्कर थापाका अनुसार जाडो मौसममा विद्यार्थीलाई न्यानोपनाको अनुभूति दिलाउने उद्देश्यले ट्रयाकसुट वितरण गरिएको हो । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया