चार महिनामा सिद्धिचरण नगरले ५१ लाखभन्दा बढी राजश्व उठायाे


सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५१ लाखभन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले साउन देखि कात्तिकसम्मको अवधिमा ५१ लाख ८१ हजार ३०५ रुपैयाँ ०८ पैसा राजश्व उठाएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र कटवालका अनुसार सबैभन्दा बढी राजश्व भूमिकर तथा मालपोत शीर्षकबाट संकलन भएको छ । यस शीर्षकबाट मात्रै १९ लाख ९ हजार २१५ रुपैयाँ ४५ पैसा उठाइएको छ ।

त्यसैगरी, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबार करबाट ३ लाख ७७ हजार ६०० रुपैयाँ, व्यवसाय दर्ता दस्तुरबाट ३ लाख ६ हजार ७० रुपैयाँ तथा नक्सा पास दस्तुरबाट २ लाख १६ हजार ४६८ रुपैयाँ ४८ पैसा संकलन भएको छ ।

सम्पत्ति करबाट २ लाख २९ हजार ९२५ रुपैयाँ, सिफारिस दस्तुरबाट ३ लाख ११ हजार ५९० रुपैयाँ, बहाल करबाट ५ लाख ९९ हजार ३३८ रुपैयाँ ६९ पैसा, अन्य बिक्री तथा सेवाबाट २ लाख ९ हजार ७०० रुपैयाँ र व्यक्तिगत घटना दर्ता दस्तुरबाट १ लाख २१ हजार ३०० रुपैयाँ राजश्व संकलन गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, बहाल विटौरी करबाट १ लाख १६ हजार ४१५ रुपैयाँ, सरकारी सम्पत्तिको बहालबाट ९ हजार ६० रुपैयाँ, अन्य बिक्रीबाट ८७ हजार ९५४ रुपैयाँ ४६ पैसा र शिक्षा क्षेत्रबाट ६ हजार रुपैयाँ आम्दानी भएको छ ।

अन्य प्रशासनिक सेवा शुल्कबाट १ लाख १६ हजार ८०० रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट ५३ हजार ६०० रुपैयाँ, अन्य राजश्वबाट २६ हजार ४५० रुपैयाँ, अन्य दस्तुरबाट ५४ हजार २५० रुपैयाँ, अन्य करबाट २ हजार ७०० रुपैयाँ तथा बेरुजु फर्छ्यौटबाट ४ लाख ८ हजार ८६८ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

गत आर्थिक वर्षमा सिद्धिचरण नगरपालिकाले कुल १ करोड ७२ लाख ५० हजार ५५६ रुपैयाँ ४७ पैसा राजश्व संकलन गरेको थियो ।