विद्यार्थीलाई खेतिपाती गर्ने शिक्षा दिँदै ज्ञान केन्द्र

भिजन समाचार
154
Shares

विद्यार्थीलाई कृषि पेशामा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र ओखलढुंगाले ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ सुरु गरेको छ ।
कृषि शिक्षाप्रति विद्यार्थीलाई प्रोत्साहित गर्नुका साथै तरकारी, फलफूल र बालीमा बढ्दो विषादी प्रयोग न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रका कृषि विज्ञ तथा प्राविधिक विद्यालयमै पुगेर कृषि शिक्षाको महत्व, कृषिमा रहेका सम्भावना, विषादीका नकारात्मक असर तथा यसको न्यूनीकरणका उपायबारे जानकारी गराएका छन् ।
कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख पेशल खतिवडाका अनुसार पछिल्लो समय तरकारी र फलफूलमा अत्याधिक विषादी प्रयोगले मानव स्वास्थ्य, जीवजन्तु, माटो र वातावरणमा गम्भीर असर परिरहेकोले त्यसबारे विद्यार्थीलाई सचेत गराउन थालिएको हो ।

हालै सिद्धिचरण नगरपालिका–४ काे रुम्जाटार माध्यमिक विद्यालय तथा विगुटारका माध्यमिक तहका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर कृषि शिक्षा प्रदान गरिएको छ ।
कृषिमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुने क्रम बढ्दो रहेकाले त्यसलाई न्यूनीकरण गर्न विद्यालय तहदेखि नै कृषि शिक्षामा जोड दिइएको खतिवडाले बताए ।

कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लाका २० वटा विद्यालयमा यस्तो कार्यक्रम सञ्चालन गरिएको थियो । यस वर्ष अघिल्लो वर्ष समेटिन नसकेका १० वटा विद्यालयमा ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ विस्तार गर्ने योजना रहेको छ ।
कार्यक्रमबाट विद्यार्थीमा कृषिप्रति सकारात्मक सोच विकास हुने, भविष्यमा कृषि शिक्षा अध्ययन, व्यावसायिक कृषि तथा सुरक्षित उत्पादनतर्फ आकर्षण बढ्ने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।