ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले कालिका आधारभूत विद्यालय मूलखर्कलाई दिन कबोल गरेको रकम ३ वर्ष वितिसक्दा पनि दिएका छैनन् । २०७९ को स्थानीय तह निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि तामाङले आफुलाई सेवा सुविधा वापत प्राप्तहुने सरकारी रकम विद्यालयहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए ।
गाउँपालिका अध्यक्षको यस्तो घोषणाले त्यसबेला सुनकोशीका विद्यालयहरु उत्साहित बनेका थिए । तर विद्यालय नै तोकेर गरेको घोषणा समेत वर्षौ सम्म पुरा नभएपछि अहिले अध्यक्षको नियतिमै प्रश्न उठाउन थालेका छन् ।
कालिका आधारभूत विद्यालयमा फर्निचर खरिदका लागि आफुले पाउने सुविधाबाट करिब १ लाख २ हजार रकम दिने वाचा गरेका थिए । तर यो समाचार तयार पार्दा सम्म विद्यालयले उक्त रकम पाएको छैन ।
‘अध्यक्ष ज्यूले १ वर्षको सेवा सुविधा ४ वटा विद्यालयलाई दिन्छु भन्ने घोषणा गर्नुभएको थियो । त्यो घोषणामा हाम्रो विद्यालयको पनि नाम थियो तर ३ वर्षभयो पैसा अझैं आएको छैन । आउने हो कि नआउने हो टोङ्गो पनि छैन । सायद बिर्सीनुभए जस्तो छ ।’ विद्यालय स्रोतले भन्यो, ‘उहाँको सेवा सुविधाको रकम भएकाले किन नदिएको भनेर सोध्न पनि अफ्ठ्यारो भयो तर अध्यक्षको घोषणा सार्वजनिक भएकाले दिनुहुन्छ भन्ने आशा छ, १ पटक विद्यालयमै बोलाएर वाचा किन पुरा नगरेको ? भनेर सम्झाउनु पर्नेछ ।’ गाउँकै नेता पालिकाको अध्यक्ष भएकाले अन्य विषयमा असहयोग हुने डरले अध्यक्षको वाचा अनुसार रकम माग गर्न नसकेको विद्यालय स्रोतले बताउँछ ।
पालिका अध्यक्षले सेवा सुविधावापतको रकम हस्तान्तरण गर्ने भनेर सोही समयमा विद्यार्थी र अभिभावकलाई सूचना समेत दिइएको थियो । अध्यक्षलाई स्वागत गर्न खादा माला तयार गरिएपनि रकम हस्तान्तरण गर्न अध्यक्ष विद्यालयमा आएनन् ।
निर्वाचित भएको पहिलो आर्थिक वर्षमा प्राप्त सेवा सुविधा वापतको रकम ४ वटा विद्यालयलाई दिने घोषणा गरेका थिए । त्यसमा कालिका आधारभूत विद्यालय मूलखर्क, कालिका माध्यमिक विद्यालय कोषभञ्ज्याङ्ग, कुशादेवी मावि कटुञ्जे र जगत जननी मावि मानेडाँडालाई १ लाख २ हजारका दरले रकम हस्तान्तरण गर्ने अध्यक्ष तामाङको घोषणा थियो । घोषणा गरेको मध्ये ३ वटा विद्यालयलाई भने अध्यक्ष तामाङले रकम हस्तान्तरण गरिसकेका छन् ।
कालिका आधारभूत विद्यालयमा घोषणा गरिएको रकम हालसम्म हस्तान्तरण नभएको गाउँपालिका अध्यक्ष कमल तामाङले स्विकार गरेका छन् ।
गाउँपालिका अध्यक्ष तामाङले भिजनलाई दिएको प्रतिक्रिया अडियाेमा सुन्नुहाेस्

प्रतिक्रिया