एजेन्सी : ओलम्पिक क्रिकेटको तालिका सार्वजनिक गरिएको छ । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकका लागि क्रिकेट खेलको तालिका सार्वजनिक गरिएको हो ।
१२८ वर्षको लामो अन्तराल पछि हुन लागेको क्रिकेटले ओलम्पिक खेलकुदमा ऐतिहासिक पुनरागमन गर्ने भएको छ । जसले विश्वभरका क्रिकेट प्रशंसकहरूलाई उत्साहित बनाएको छ ।
लस एन्जलस (एलए) ओलम्पिकमा क्रिकेट खेलहरू जुलाई १२, २०२८ देखि सुरू हुनेछन् । पुरुष र महिला दुवै विधाका पदकका लागि फाइनल खेलहरू जुलाई २० र २९ मा खेलाइनेछन् । सम्पूर्ण खेलहरू टी२० ढाँचामा सञ्चालन हुनेछन् ।
सबै खेलहरू पोमोना शहरको फेयर ग्राउन्ड स्टेडियममा हुनेछन् । नेपाली समयअनुसार, दिनको पहिलो खेल राति ९ः४५ बजे र दोस्रो खेल भोलिपल्ट बिहान ७ः१५ बजे सुरू हुनेछ । प्रतियोगितामा प्रायः एकै दिन दुई खेल (डबल हेडर) हुनेछन्, तर जुलाई १४ र २१ मा भने कुनै खेल हुने छैन ।
यस प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टोलीमा १५ खेलाडी रहनेछन् र कुल १८० खेलाडीले ओलम्पिकमा भाग लिनेछन् । आयोजक राष्ट्रको रूपमा अमेरिकाले स्वतः स्थान पाउने निश्चित छ। पुरुष र महिला दुवैतर्फ बाँकी ५–५ टोलीले छनोट प्रक्रिया पार गरेर आउनुपर्नेछ ।
यद्यपि, छनोटको पूर्ण प्रक्रियाबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन। अमेरिकाले हालै मात्र टी–२० विश्वकपको सफल आयोजना गरेकाले पनि उसको सहभागितालाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया