कटुन्जे माविमा स्मार्ट हाजिरी सहित शैक्षिक व्यवस्थापनमा डिजिटल प्रणाली लागु

भिजन समाचार
156
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा रहेको कटुन्जे माध्यमिक विद्यालयले शैक्षिक प्रशासनमा प्रविधिको प्रभावकारी प्रयोग गर्दै ‘ई–हाजिरी’ प्रणाली सुरु गरेको छ । विद्यालयले शिक्षक तथा विद्यार्थीको हाजिरी प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउँदै प्रविधिमैत्री शैक्षिक वातावरण निर्माणको सुरुवात गरेको हो ।

विद्यालयले सुरु गरेको यो प्रणाली अन्तर्गत विद्यार्थी र शिक्षकहरूले बिहान र बेलुका स्मार्ट आइडी कार्ड ट्याप गरी आफ्नो हाजिरी दिनेछन् । हाजिरी ट्याप भएलगत्तै विद्यार्थीको उपस्थितिको सूचना अभिभावकको मोबाइलमा सन्देश मार्फत पुग्ने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष झनककुमार कार्कीले बताए । प्रविधिको प्रयोगले अनुशासन र नियमितता सुनिश्चित गर्दै शैक्षिक गुणस्तरमा ठुलो फड्को मार्ने अपेक्षा गरिएको विव्यस अध्यक्ष कार्कीको भनाई छ । “हामी प्रविधिमैत्री र समावेशी शिक्षाको नमुना बनाउने प्रयासमा छौं,” उनले भने, “सबैको सहयोगले यो सम्भव हुन्छ भन्ने विश्वास छ ।”

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले डिजिटल प्रणालीले व्यवस्थापनमा पारदर्शिता, स्रोतको सही सदुपयोग र समयको बचत सुनिश्चित गर्ने बताए । अब शिक्षकले हाजिरी पुस्तिका बोकेर कक्षामा जानु पर्ने बाध्यता हटेको प्रधानाध्यापक पुडासैनीको भनाई छ ।

स्मार्ट हाजिरी मात्र नभई विद्यालयले लेखा व्यवस्थापन, शिक्षक–कर्मचारीको बिदा अभिलेखीकरण, पुस्तकालय सेवा, परीक्षाफल तयारी, सूचना प्रवाह, संवाद संयन्त्र लगायतका कार्यहरू पनि एकीकृत डिजिटल सफ्टवेयर प्रणाली मार्फत सञ्चालन थालिएको छ ।

यस अघि नै विद्यालयले प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकतामा राख्दै स्मार्ट बोर्ड प्रयोग, व्यवहारिक कम्प्युटर तालिम, बुक–फ्री गुड फ्राइडे कार्यक्रम, स्काउट गतिविधि, शिक्षक तालिम, शैक्षिक भ्रमण, मन्टेश्वरी शिक्षण विधि र क्यान्टिन सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।