उद्योगी–व्यवसायीका समस्या बुझ्न अन्तरक्रिया, सहज वातावरण सृजनामा जोड

भिजन समाचार
24
Shares

उद्योगी तथा व्यवसायीको समस्या बुझेर सम्बोधन गर्न घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यालयको आयोजनामा वाणिज्य तथा उद्योग सँग सम्बन्धित सरोकारवाला बीच माग, गुनासो, जिज्ञासा र समस्या विषयमा गहिरो छलफल गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका प्रमुख मोहनराज भट्टराईले कार्यालयले प्रवाह गर्दै आएको सेवा, तालिम तथा राजस्व संकलनबारे जानकारी गराएका थिए । प्रमुख भट्टराईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म कार्यालयले उद्यमशीलता, युवा लक्षित उद्यम विकास, रोजगारमूलक तालिमजस्ता नौ वटा तालिम सञ्चालन गरेको छ । ती तालिमबाट १०७ जना सेवा लाभग्राहीले सीप हासिल गरेका छन् । उनले चालु आर्थिक वर्षको यो अवधिमा कार्यालयमार्फत २५ लाख ४४ हजार ३० रुपैयाँ राजस्व संकलन भएको समेत जानकारी दिए ।

उनले सिपमार्फत उद्यमशील बनाउने लक्ष्यसहित गुनासोरहित सेवा प्रवाहमा कार्यालय प्रतिबद्ध रहेको बताएका छन् ।

यस्तै करदाता सेवा कार्यालय ओखलढुंगाका प्रमुख अरविन्द रानाभाटले कर प्रणाली, करका किसिम, करको महत्त्व, र नयाँ कानुनी व्यवस्थाबारे जानकारी गराउँदै व्यवसायीलाई करप्रति सचेत बनाइने उल्लेख गरेका छन् ।

कार्यक्रममा सहभागी उद्योगी, व्यापारी तथा व्यवसायीहरूले काष्ठ उद्योग र वनको दूरीसम्बन्धी बाध्यकारी नियमले व्यवसाय सञ्चालनमा समस्या भएको, सुन व्यवसायमा लाग्ने अतिरिक्त कर कटौती हुनुपर्ने, र क्षमता अभिवृद्धिका लागि थप तालिम आवश्यक रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

कर कार्यालय प्रमुख रानाभाटले व्यवसायीहरूलाई आगामी आर्थिक वर्षको सुरुवातमै बिल–बिजकसम्बन्धी तालिम दिइने प्रतिवद्धता जनाए । घरेलु कार्यालय प्रमुख भट्टराईले स्थानीय रूपमा समाधान गर्न सकिने विषयमा तत्काल सम्बोधन गरिने र संघ तथा प्रदेश सरकारसँग सम्बन्धित विषय प्रस्तावमार्फत अगाडि बढाइने बताए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख टेकराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल, सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत लगायतले उद्योगी व्यवसायीलाई सहज र अनुकूल वातावरण सिर्जना गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।