ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा भएको नागरिक सुनुवाई कार्यक्रममा स्थानीय बासिन्दाले हर्कपुर क्षेत्रमा हुने सवारी दुर्घटनाबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सो क्षेत्रका सडकमा दिनहुँजसो हुने दुर्घटनाको न्यूनीकरणका लागि प्रहरी र प्रशासनलाई गम्भीर बन्न आग्रह गरेका हुन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रमका क्रममा सहभागीहरुले सवारी टाइम कार्डको प्रभावकारी कार्यान्वयन र नियमित चेकजाँचको माग गरेका छन् ।
त्यस्तै, टेलिफोन सञ्जालको अभावमा दुर्घटना र आपतकालीन अवस्थामा सम्पर्क गर्नसमेत समस्या हुने जनाउँदै उनले टेलिकम सेवा विस्तारमा जोड दिएका छन् ।
सुनुवाईका क्रममा स्थानीय नागरिकहरूले हर्कपुर प्रहरी चौकीमा जनशक्ति अपुग भएको भन्दै दरबन्दी थपका लागि पहल गर्न समेत आग्रह गरेका छन् । यसका साथै शान्ती सुरक्षा कायम गर्न र अपराध न्युनिकरणका विषयमा छलफल भएकाे थियाे ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले दुर्घटना न्यूनीकरणका लागि टाइम कार्डको कडाइका साथ पालना गराउने प्रतिवद्धता जनाएका छन् । साथै, हर्कपुर क्षेत्रको नेटवर्क समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गरिने प्रनाउ केसीले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकाल पौडेलले अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रशासनले सुरक्षा निकायसँग समन्वय गर्दै काम गरिरहेको बताइन् ।
मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले पालिकाले नागरिकका उजुरीको सहजीकरण र न्यायिक समाधानमा सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । “प्रहरीको यस किसिमको प्रत्यक्ष छलफल कार्यक्रम प्रभावकारी छ, यसले नागरिक–प्रहरी सम्बन्ध सुदृढ बनाउँछ,” अध्यक्ष रुम्दालीले उल्लेख गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत स्थानीय नागरिकहरूको उपस्थिति थियो ।

प्रतिक्रिया