सवारी दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ सुरु

भिजन समाचार
32
Shares

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि ओखलढुंगा सहित कोशी प्रदेशका १४ वटा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश विराटनगर र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा प्रदेशभर ट्राफिक सप्ताह सुरु भएको हो ।

ओखलढुङ्गामा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा ‘सेफ ड्राइभ, लङ लाइफ’ भन्ने मूल नारासहित सप्ताहव्यापी अभियान शुक्रबारबाट सुरु भएको छ ।

पहिलो दिन प्रभातफेरि, सचेतनामुलक ¥याली, ट्राफिक सचेतनाबारे जनचेतनामूलक पर्चा वितरण र उद्घाटन कार्यक्रम गरेर ट्राफिक सप्ताहको सुरुवात गरिएको छ ।

सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी र जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले संयुक्त रुपमा एक–एक जना छात्र–छात्रालाई हेल्मेट लगाएर अभियानको सुरुवात गराएका छन् ।

सडक दुर्घटनासम्बन्धि सचेतना बढाई दुर्घटना न्यूनिकरणका लागि साताव्यापीरुपमा रचनात्मक रुपमा सचेतना, चेकजाँच र कारबाहीका कार्यक्रम गरि ट्राफिक सप्ताह मनाइने जिल्ला प्रहरी प्रमुख मदन केसीले बताए । ट्राफिक नियमको पूर्ण पालना गरेर सवारी जन्य दुर्घटना कम गरेर सुरक्षित रहन समाजमा सन्देश प्रवाह गर्न यो कार्यक्रम फलदायी हुने उनको भनाई छ ।

ट्राफिक सप्ताहमा सवारी दुर्घटना न्यूनिकरण, सडक अनुशासन र ट्राफिक व्यवस्थापनका लागि साताव्यापी रुपमा आम नागरिक, विद्यार्थी, यात्रु र चालकलाई सचेतना, सादा पोशाकमा सवारीमा प्रहरी परिचालन गरि छड्के निरीक्षण र कारबाही, यान्त्रिक परिक्षण, पर्चा–पम्प्लेट, स्टिकरण वितरणलगायतका कार्यक्रम हुनेछन् ।

सवारी नियमको पालनाले ट्राफिक प्रहरीलाई नभई आफैंलाई सुरक्षित राख्ने भएकाले सबैले ट्राफिक नियमको पालना गर्नुपर्ने सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालको भनाई छ । सदरमुकाममा पछिल्लो समय जथाभावी हुने पार्किङलगायतका कारण अव्यस्थित बन्दै गएकोले यसको समाधानको लागि सबै पक्ष जुट्नुपर्ने नगरप्रमुख खनालको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सवारी चेकजाँचलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन जिल्लाका स्थानीय तह र सरोकारवाला निकायले सहयोग गर्न अपिल गरेका छन् ।  कम जनशक्ति र सिमित स्रोत साधनका बाबजुत ट्राफिक प्रहरी जिल्लामा दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनमा जुट्नु परेको उनको भनाई छ । प्रजिअ सुवेदीले बर्षायाममा हुने जोखिमलाई आँकलन गर्दै गन्तव्यसम्म सडकको अवस्था राम्रो रहेको जानकारी भएपछि मात्रै सवारीलाई आवागमनका लागि अनुमति दिइने गरि योजना बनाइएकोले यसमा सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरेका छन् । 

कार्यक्रममा सरोकारवालाले पछिल्लो समय जिल्लामा दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीको भूमिका सक्रिय रहेको भन्दै आगामी दिनमा निरन्तरता दिन आग्रह गरेका छन् । कार्यक्रमले व्यक्तिदेखि समाजसम्मलाई सुरक्षित ट्राफिक व्यवस्थापनका बारेमा प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक लेखनाथ खनालका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको जिल्लामा चालु आर्थिक बर्षको साउन देखि हालसम्म ४० वटा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान भएको छ  । यस अवधिमा १ गम्भिरसहित ५० जना घाइते भएका छन् ।