ओखलढुंगामा गोलिया काठ कटानी–ढुवानी तीन महिनालाई प्रतिबन्ध

भिजन समाचार
246
Shares

ओखलढुंगामा गोठिया काठ कटानी तथा ढुवानी कार्य तीन महिनाका लागि पूर्ण रूपमा प्रतिवन्ध गरिएको छ । डिभिजन वन कार्यालय ओखलढुंगाले असार १ गते देखि भाद्र मसान्तसम्म गोलिया काठको कटानी र ढुवानीमा रोक लगाएको हो ।

गोलिया काठको अनियन्त्रित कटानी, ढुवानी तथा ओसार–पसारका कारण वन विनास, बर्षायामका बेला सडकमा क्षति र वातावरणमा समेत असर पुग्ने भएकाले असार १ गते देखि भदौ मसान्तसम्म तीन महिनासम्म काठसम्बन्धी सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाइएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख रितेश भुषण बस्नेतले बताए ।

बर्षायामको समयमा बाटो भत्कने तथा पहिरोजन्य विपदको जोखिम हुने भएकाले जोखिम न्यूनीकरणका लागि पनि तीन महिनालाई उक्त कार्यमा रोक लगाइएको उनको भनाई छ ।

यस अवधिमा गोठिया काठको कटानी, ओसार–पसार, बिक्री तथा ढुवानीमा संलग्न पाइएमा कानुन अनुसार कडा कारबाही गरिने प्रमुख बस्नेतले चेतावनी दिए । त्यस्तै नियमअनुसार कटान गरिसकिएको काठलाई भने असार १० गतेसम्म ओसार–पसार गर्न पाइने डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।