ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छन् । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर मंगलबारेका उत्तर तामाङकी श्रीमती ३२ वर्षिया हिरा तामाङले शुक्रबार ओखलढुंगा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिएकी हुन् ।
विहिबार प्रसव व्यथा लागेर अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान १०: ४० देखि १०: ४२ सम्म तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा.रोशन खरेलले जानकारी दिए । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीहरुलाई जन्म गराएका हुन् ।
तीन जनामध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रो छोरीको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

३६ हप्तामै शल्यक्रिया मार्फत निकालिएका नवजात शिशुहरु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ । उत्तर र हिरा दम्पत्तीका एक ७ वर्षिय छोरा छन् ।
ओखलढुङ्गामा सम्भवतः एकै पटक ३ वटा शिशु जन्मिएको यो पहिलो घटना हो ।

प्रतिक्रिया